नेकपाका सांसद सत्तापक्षकै लहरमा बस्ने

काठमाडौं । आइतबार शुरु हुन लागेको प्रतिनिधि सभाको बैठकमा नेकपाका सांसदहरु एकै लहरमा बस्ने भएका छन् ।

औपचारिक रुपमा दल विभाजन नभएपनि सत्तापक्ष र विपक्षका रुपमा विभाजित नेकपाका सांसदहरुको बसाइका बारे चासो बढिरहेका बेला संसद् सचिवलायले नेकपाका सांसदहरु सत्तापक्षकै कुर्सीमा बस्ने जनाएको हो । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेकपा विभाजन भएको औपचारिक पत्र निर्वाचन आयोगबाट प्राप्त नभएकाले दाहाल–नेपाल पक्षका  सांसदहरु पनि सत्तापक्षको कुर्सीमै बस्ने बताए ।

प्रतिनिधि सभाको बैठकमा नेकपाका सबै सांसदलाई सत्तापक्षको लाइनमा नै बस्ने गरि सिट व्यवस्थापन गरिएको उनले बताए । उनले दलको कारबाहीसम्बन्धी पत्राचार सचिवालयको जानकारीका रुपमा मात्र रहने बताए । ‘मान्यता दिने नदिने भन्ने अधिकार सचिवालयले राख्दैन’, पाण्डेले भने, ‘आयोगबाट विभाजनको पत्र अहिलेसम्म आएको छैन । हामीले कानूनतः सत्तारुढ दल एउटै छ भन्ने बुझ्ने हो ।’

संसद् सचिवालयले एकीकृत भएको जनता समाजवादी पार्टीका लागि भने सिट व्यवस्थापन मिलाएको जनाएको छ । संसद् सचिवालयले नेकपाको संसदीय दलको नेता केपी शर्मा ओलीले देव गुरुङलाई हटाएर विशाल भट्टराई प्रमुख सचेतक बनेको जानकारी प्राप्त भएको जनाएको छ ।

प्रवक्ता पाण्डेले प्रतिनिधि सभाबाट अनुमोदन भएका सदस्यहरू कार्यव्यवस्था समितिमा रहने प्रचलन रहेको बताए । उनले नयाँ नियुक्ती भएका प्रमुख सचेतक समितिमा रहनुपर्ने बाध्यात्मक अवस्था नरहेको तर सभामुखले आमन्त्रण गर्न सक्ने बताए ।

प्रतिक्रिया