के हुन्छ नेकपाको आधिकारिकता कट्टेलले पाए ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नामको दलको आधिकारिकताका विषयमा सर्वोच्च अदालतले फैसला सुनाउँदै छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसबारेको फैसला आज सुनाउन लागेको हो ।

दुवै पक्षको बहस सुनिसकेपछि फागुन २० गते फैसला सुनाउने दिन (निसु) तोकेको फागनु २० गते पूर्वन्यायाधीसको निधनका कारण अदालत बन्द रहेकाले आजका लागि निसु सारिएको हो ।

तत्कालिन नेकपा एमाले र एकीकृत माओवादी केन्द्र मिलेर बनेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको विरोधमा कम्युनिष्ट नेता ऋषी कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए । आफ्नो नेतृत्वमा त्यसअघि नै नेपाल कम्युनिष्ट पार्टी नामको दल निर्वाचन आयोगमा समेत दर्ता भइसकेकाले नयाँ दललाई त्यो नाम दिन नहुने र नेकपा नामको आधिकारिता आफु अध्यक्ष रहेको दलले पाउनुपर्ने जिकिर कट्टेलको छ ।

तर तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई कोष्ट मा (नेकपा) लेखेर आयोगले दल दर्ता गर्न दिएको थियो । कट्टेलले धेरै अघि नै यो रिट सर्वोच्चमा दायर गरेपनि सर्वोच्चले सत्तारुढ नेकपाभित्र विवाद चर्किएका बेला सर्वोच्चले यो मुद्दा पेशीमा चढाएर फैसला गर्न लागेको हो ।

सत्तारुढ नेकपाभित्र कुन पक्ष आधिकारिक भन्ने विवाद निर्वाचन आयोगमा पुगेको छ । आयोगले यसबारेमा फैसला गर्न नसकिरहेका बेला सर्वोच्चले नेकपाको आधिकारिकता कट्टेलको हुने कि तत्कालिन एमाले र माओवादी मिलेर बनेको पार्टीको हुने भन्ने फैसला गर्न लागेको हो ।

नेकपा अनौपचारिक रुपमा दुई दल जस्तै बनिसकेको अवस्थामा आउन लागेको फैसलालाई चासोका साथ हेरिएको छ ।सर्वोच्चले नेकपा नामको दलको आधिकारिकता ऋषी कट्टेलकै हुने फैसला गरेको अवस्थामा नेकपाको एकतापूर्वको अवस्था आउँछ कि भन्ने चर्चा भइरहेपनि कानूनविदहरु भने त्यस्तो अवस्था नहुने बताउँछन् ।

सर्वोच्चले नेपाल कम्य्ुनिष्ट पार्टीको आधिकारिकता कट्टेलको नाममा रहेको दलको हुने ठहर गरेमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेर दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका लागि अर्को नाम दर्ता गर्नुपर्ने छ । तर एमाले र माओवादी केन्द्र भन्ने दल यसअघि खारेज गरि आयोगले फेरि त्यस्तै नामका दल अरुलाई नै दर्ता गर्न दिइसकेकाले अब ती नाम ब्युँतने सम्भावनै नहुने एक वरिष्ठ अधिवक्ताले बताए ।

तर, नयाँ नाम दर्ता गर्नुपर्ने फैसला आएको खण्डमा निर्वाचन आयोगले नयाँ नाम माग गर्नुपर्नेछ । यस्तो बेलामा ओली र प्रचण्डले संयुक्त रुपमा एउटै नाम प्रस्ताव गर्न सक्ने अवस्था नभएकाले त्यो अवस्थामा भने कानूनी जटिलता देखिन सक्ने छ ।
तर नेपाल कम्युनिष्ट पार्टी नाम राखेर कोष्टमा फरक नाम राखेर १४ वटा दल दर्ता छन् ।

त्यसो त नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाल कम्युनिष्ट पार्टी (मसाल) भनेजस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम राखिएकाले नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) फरक फरक रहेको जिकिर एमाले र माओवादी मिलेर बनेको नेकपाले गर्दै आएको छ ।

प्रतिक्रिया