बार्सिलोनाको सहज जित

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २-० गोलले पराजित गर्दै शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी दुईमा समेत झारेको छ ।

घरेलु टिम ओसासुनाविरुद्ध बार्सिलोनाको जितमा जोर्डी अल्बा र लेक्स मोरिबाले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो । ३० औं मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाए । ८३ औं मिनेटमा मोरिबाले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।

स्पेनिस ला लिगा फुटबलमै भएको अर्को खेलमा भने सेभिया इल्चेसँग २-१ गोलअन्तरले स्तब्ध बनेको  छ। अन्तिम मिनेटमा लुक डि योङले गोल गरेपनि सेभियाले हार टार्न सकेन । भ्यालेन्सियाले भिल्लारियलाई २-१ गोलले पराजित गर्दा काडिजले इबारलाई १-० ले हराएको छ । त्यस्तै, भालाडोलिडले गेटाफेलाई २-१ गोलले पराजित गरेको छ ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक दूरी घटाएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको २६ खेलबाट ५६ अंक भएको छ । पराजित ओसासुनाको भने २६ खेलबाट २८ अंक  छ। शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको २४ खेलबाट ५८ अंक छ ।

दोस्रो स्थानमा रहेको बार्सिलोनाले भन्दा एथ्लेटिको मड्रिडले दुई खेल कम खेलेको छ । साविक विजेता रियल मड्रिड भने २५ खेलबाट ५३ अंक बनाउँदै लिगको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया