ओली समूहको संसदीय दलको बैठक सकियो, ११५ सांसद उपस्थित भएको दाबी

काठमाडौं । सत्तापक्षीय नेकपाको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको उक्त बैठकमा ११५ जना सांसदहरु उपस्थित भएको दाबी गरिएको छ ।

प्रतिनिधि सभाका ९१ र राष्ट्रिय सभाका २४ सदस्य गरी ११५ जना सांसदहरुको उपस्थिति रहेको यो पक्षको दाबी छ । राष्ट्रिय सभाका नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार यो परिमाणमा सांसदहरु उपस्थित भएका हुन् ।

बैठकमा बामदेव गौतम, तुलसा थापा र लालबाबु पण्डित भने उपस्थित भएका थिएनन् । ओली समूहले बैठकमा सहभागी हुन विपक्षी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँगै उनीहरु निकटका सांसदहरुलाई पनि निम्तो दिएको थियो ।

यसअघि गत शुक्रबार दाहाल–नेपाल समूहको पनि संसदीय दलको बैठक बसेको थियो । बैठकमा १११ सांसदहरुको उपस्थिति रहेको थियो । यो समूहले त्यसबेला आफ्नो चार सांसदहरु बाहिर रहेको बताएको थियो ।

आइतबारबाट ओलीले गत ५ पुसमा विघटन गरी ११ फागुनमा सर्वोच्च अदालतले पुनःस्थापना गरेको प्रतिनिधि सभाको अधिवेशन शुरु हुँदैछ । जसका लागि अहिले सांसदहरु तानातानमा छन् ।

प्रतिक्रिया