ओलीले वामदेवलाई दिए संसदीय दलको बैठकको निम्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगे । ओली आफूनिकट नेताहरू परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसहित त्यहाँ पुगेका हुन् ।

प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली उपाध्यक्ष गौतमलाईको स्वास्थ्य अवस्था बुझ्न भैंसेपाटी पुगेका हुन् । केहीदिन अघि घरभित्र लडेर गौतमलाई सामान्य चोटपटक लागेको थियो । तर प्रधानमन्त्री ओली भैंसेपाटी पुग्नुलाई निकै चासोका साथ हेरिएको छ ।

ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार प्रधानमन्त्रीले उपाध्यक्ष गौतमलाई आज बस्ने संसदीय दलको बैठकमा आउन आग्रह गरेका थिए । ‘उहाँको स्वास्थ्य अवस्था बुझ्न हामी भैंसेपाटी गएका हौं । सामान्य कुराकानी मात्रै भयो,’ नेम्वाङले भने, ‘त्यहीँ बेला बैठकका लागि आग्रह गरेको हो तर उहाँ हाँस्नु मात्रै भयो कुनै जवाफ दिनु भएन ।’

यसैबीच प्रधानमन्त्री ओली नेतृत्त्वको नेकपाको संसदीय दलको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेता नेम्वाङले जानकारी दिए । संसद सुरु हुनभन्दा अघि र अन्त्य भएपछि संसदीय दलको औपचारिक बैठक बस्ने परम्परा अनुसार नै बैठक बस्न लागेको उनले बताए ।

प्रतिक्रिया