नेता भट्टराईद्वारा दोभानका आगलागी पीडितलाई पाँच लाख सहयोग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

आगलागी क्षेत्रको निरीक्षणपछि विस्थापित परिवारका लागि शुक्रबार उनले मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङ लिम्बूलाई सो रकम हस्तान्तरण गरे ।

सो अवसरमा उनले आगलागी पीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताए । यस्तै तीनवटै तहका सरकार र निर्वाचित जनप्रतिनिधिहरूको समन्वयमा आगलागीबाट हुने क्षतिको न्यूनीकरणका लागि आवश्यक योजना बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच प्रदेशसभा सदस्य होमकुमारी सावाँ लिम्बूले समेत आगलागी पीडित परिवारका लागि नगद ५० हजार रुपैयाँ सहयोग गरे । गत मङ्गलबार भएको आगलागीबाट दोभान क्षेत्रका ५० घर जलेर नष्ट भएका थिए भने ६३ परिवार विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका साथै व्यक्तिहरूद्वारा राहत वितरण गरिएको छ ।

प्रतिक्रिया