नेपालमा सामाजिक रुपान्तरण अझै पूरा भएको छैन : विप्लव

काठमाडौं । सरकारसँगको सम्झौतापछि शान्तिपूर्ण राजनीतिमा आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा समाज रुपान्तरणको प्रक्रिया पूरा भइनसकेको बताएका छन् ।

सरकारसँगको तीन बुँदे सहमति पत्रमा हस्ताक्षर तथा सम्बोधन कार्यक्रममा बोल्दै विप्लवले नेपालको समाज रुपान्तरणको प्रक्रियामा अघि बढेको तर सामाजिक आर्थिक र राजनीतिक रुपान्तरण नपुगेको बताएका हुन् ।

आफ्नो पार्टी देशलाई नयाँ ढंगले रुपान्तरण गरौँ भन्नका लागि अहिलेको सहमतिमा पुगेको विप्लवले बताए ।

नागरिकलाई आफ्नो जीवनमाथि आफैँ हावी भएको र आफूलाई आफैँले नेतृत्व गरेको जस्तो अनुभुति हुन नसकिरहेको टिप्पणी गर्दै उनले जनतालाई नयाँ फैसला गर्ने अवसर दिनुपर्ने बताए ।

‘नेपालीले सधैँ दलाल पूँजीवादीको कब्जामा किन पर्नुपर्ने ?’ उनले भने‚ ‘आफ्नो हितका लागि कदम चाल्न किन नपाउने ?’ सरकारले आफैँ आफ्नो पक्षमा कदम चाल्दा पनि अमान्य हुने अवस्था किन बन्यो ? यो कुराको खोजी हुनुपर्ने विप्लवको भनाइ छ ।

अब आफ्नोबारे देशको भविष्यको बारे फैसला गर्ने अधिकार नेपाली नागरिकलाई दिनुपर्ने उनको भनाइ छ । अब प्रत्यक्ष रुपमा नेपालको पक्षमा फैसला दिने जनमत हुनुपर्ने र यसका लागि आफ्नो पार्टी सहयोग गर्न तयार रहेको उनले बताए ।

‘कुनै विदेशीले हामीलाई हमला गर्‍यो वा हेप्न थाल्यो भने जीवन धर्तिमा गाडिन्छ तर हामी झुक्नेवाला छैनौँ‚’ विप्लवले भने ।

प्रतिक्रिया