मुस्कानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौँ । एसिड आक्रमण अन्त्य गर्ने अभियानमा लागेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कारबाट सम्मानित हुने भएकी छन् । एसिड आक्रमणविरुद्धकी अभियन्ता खातुनलाई अमेरिकाले प्रतिष्ठित याे पुरस्कारबाट सम्मान गर्ने भएकाे हाे ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी विदेश मन्त्रालयले यस वर्षको पुरस्कार मुस्कानलाई दिने निर्णय गरेको हो । एसिड आक्रमण अन्त्य गर्नतर्फ लक्षित उनको कार्यका लागि यो पुरस्कार दिइने दुतावाले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । मुस्कान यो पुरस्कार पाउने पहिलो नेपाली र सबैभन्दा कम उमेरकी व्यक्ति पनि रहेकाे दुतावासले जनाएकाे छ ।

१५ वर्षकी छँदा प्रेम प्रस्ताव अस्वीकार गरेकाे भन्दै एक किशोरले मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।

यसका बाबजुद मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि वकालत गरिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एसिड आक्रमणकारीलाई कडा सजायको व्यवस्था गर्न माग गरिन् ।

त्यसपछि सरकारले तेजाब हमलासम्बन्धी अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश जारी गरेकाे छ ।

८ मार्चमा आयाेजना गरिने पुरस्कार वितरणकाे भर्चुअल समारोहमा अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङ्कन सहभागी हुनेछन् । १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ ।

प्रतिक्रिया