ओलीका काम कारबाहीलाई मान्यता नदिन संसदलाई प्रचण्ड माधव-पक्षको आग्रह

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकाे संसदीय दलको नेताका रुपमा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन संसदलाई आग्रह गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद सचिवालयका महासचिवलाई पत्र पठाएर नेकपाको केन्द्रीय कमिटीका बहुमत सदस्यको बैठकले माघ १९ गते ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेकाले अब ओलीले संसदीय दलको नेताका रुपमा गर्ने काम कारबाही मान्य नहुने जिकिर गरेका हुन् ।

पत्रमा पार्टी सदस्य नै नरहेको व्यक्ति संसदीय दलको नेताका रुपमा रहन नसक्ने जिकिर पनि गरिएको छ ।

पत्रमा पार्टीका कुनै सदस्यलाई बोर्डको सिफारिसमा केन्द्रीय कमिटीले निष्काशन गर्नसक्ने संसदीय दलको विधान रहेको भन्दै निष्काशनमा परेको व्यक्तिले त्यही भूमिकामा गर्ने काम कारबाही मान्य हुन नसक्ने उल्लेख गरिएको छ ।

‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निष्काशित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय वैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’ पत्रमा लेखिएको छ ।

पत्रमा संसदीय दलको नेताका नाममा प्रधानमन्त्री ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारबाही अनधिकृत भई मान्य नहुने जिकिरसमेत गरिएको छ ।

सांसदहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, दिनानाथ शर्मा लगायतले संसद सचिवालयमा पुगेर पत्र बुझाएका हुन् ।

पत्र यहाँ छः–

प्रतिक्रिया