नेकपा नाम विवाद मुद्दा : फैसलाकाे मिति सर्‍यो

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम विवादसम्बन्धी मुद्दाकाे फैसला मिति सरेकाे छ ।

गएकाे बिहीबार न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले अन्तिम सुनुवाइ गर्दै फागुन २० गते बिहीबार अर्थात् आज नेकपा नामसम्बन्धी विवादकाे मुद्दा टुंगाउने जनाएका थिए । तर  पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनकाे शाेकमा आज सर्वाेच्चसहित देशभरका अदालतहरू बन्द रहने भएपछि फैसला मिति धकेलिएकाे हाे । पूर्वप्रधानन्यायाधीश सिंहको मंगलबार साँझ निधन भएको थियाे ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भएपछि हालको निर्वाचन आयोगमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियाे । तर ऋषिराम कट्टेलले निर्वाचन आयोगमा त्यसअघि नै आफ्नाे नेतृत्वमा  दर्ता भइसकेकाे नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै सर्वाेच्चमा रिट दर्ता गरेका थिए । कट्टेलले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको भन्दै २०७५ मंसिरकाे तेश्राे साता सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दुई समूहमा विभाजन भएकाे नेकपा सर्वाेच्चले संसद पुनःस्थापनाकाे फैसला गरिसकेकाे अवस्थामा समेत एकजुट हुन सकिरहेका छैनन् । ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल दुवै समूहले एकअर्काकाे विराेधमा खराे मन्तव्य राख्दै आएका छन् ।

प्रचण्डले ओलीले पार्टी फुटाइसकेकाे दाबी गर्दै अब मिल्न नसकिने बताउँदै आएका छन् । ओली पनि प्रचण्डसँग मिलेर जाने संकेत देखिएकाे छैन । ओली-प्रचण्ड नै नजुट्ने निष्कर्षमा पुगिसकेकाे अवस्थामा दुवै समूहले नेकपा नाम आफ्नो समूहले पाउनुपर्ने अडान राखिरहेका छन् । सत्तारूढ समूहबीच नै नेकपा कसकाे भन्ने हाेडबाजी चलिरहेका बेला सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा तत्कालीन एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुनेछ !

प्रतिक्रिया