चेम्बरको सचेतनामूलक कार्यक्रम

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक भुक्तानीसम्बन्धी समस्या समाधानका लागि व्यवसायीहरूलाई लक्षित गरी सचेतनामूलक तथा शिक्षामूलक कार्यक्रमहरू गर्ने भएको छ ।

कानुनी व्यवस्था तथा प्रक्रियागत विषयहरूबारे जानकारी अभावका कारण व्यवसायीहरूले झन्झट व्यहोर्नु परेको भन्दै चेम्बरले उद्योगदेखि खुद्रा व्यवसायीलाई समेत सहभागी गराई सचेतनामूलक कार्यक्रम गर्न लागिएको चेम्बरको आपूर्ति समितिका सभापति देवेन्द्रभक्त श्रेष्ठले जानकारी दिए । ‘कानुनमा भएका व्यवस्थाबारे राम्रोसँग थाहा नपाउँदा पनि व्यवसायीहरूले अनावश्यक समस्या व्यहोरिरहेका छन्,’ उनले भने ।

नेपाल प्रहरी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालयहरू, स्थानीय सरकार, सरकारी वकिलको कार्यालयलगायतका सरकारी निकाय पनि चेम्बरले गर्ने सचेतना कार्यक्रममा सहभागी हुने बताइएको छ । चेम्बरले व्यवसायमा आउने समस्याका बारेमा कक्षा सञ्चालन, अन्तरक्रिया लगायतका सचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया