राजस्व अनुसन्धानमा नयाँ महानिर्देशक, मैनालीको सरुवा अर्थमा

काठमाडौं । सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा रामप्रसाद आचार्यलाई नियुक्त गरेको छ । रक्षा मन्त्रालयमा कार्यरत सहसचिव आचार्यलाई सरकारले महानिर्देशकको जिम्मेवारीसहित राजस्व अनुसन्धान विभागमा सरुवा गरेको हो ।

यसअघिका महानिर्देशक सहसचिव दीर्घराज मैनालीलाई भने सरकारले अर्थमन्त्रालयअन्तर्गतकाे अान्तरिक राजस्व विभागकाे महानिर्देशकमा सरुवा गरेको छ ।

सरकारले राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहतमा ल्याएपछिका पहिलो महानिर्देशकका रुपमा मैनालीले २ वर्ष ८ महिना विभागमा काम गर्ने अवसर पाएका छन् । मैनालीको कार्याकालमा राजस्व अनुसन्धान विभागले राजस्व चुहावटका ठूला ठूला कसुरहरुको अनुसन्धान गरी दण्ड जरिवाना तथा राजस्व असुलीमा राम्रो नतिजा हात पारेको थियो ।

२०७६ जेठ ७ मा सरकारले उनलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएको थियो । विभागमा बुधबार एक कार्यक्रमको आयोजना गरी नयाँ महानिर्देशकको स्वागत र पुराना महानिर्देशकको विदाई गरिएको छ ।

विभागका नयाँ महानिर्देशकका रुपमा आचार्यले बुधबारदेखि कार्यभार सम्हालेका छन् भने बुधबार नै कर्मचारीबाट विभागका काम कारवाहीबारे ब्रिफिङसमेत भएको छ ।

 

प्रतिक्रिया