वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम जोगाउन १ अर्बको प्रलोभन देखाइयो : मन्त्री आले [भिडियोसहित]

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले सरकारको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम जोगाउन आफूलाई १ अर्ब रुपैयाँको प्रलोभन आएको दाबी गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषद्मा मन्त्री आलेले आफूलाई आर्थिक प्रलोभन आए पनि वन फडानी र तस्करीलाई प्रश्रय दिने उक्त कार्यक्रम खारेज गरिएको उनले बताए ।

‘जुन दिन पद वहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायी, वनका केही बदमास कर्मचारीले मलाई भेट्ने प्रयास गरे,’ उनले भने, ‘मैले कसैलाई भेटिन । हामी १ अर्ब पैसा उठाएर दिन्छौं भन्ने कुरा पनि आयो । तर मैले मुखमा कालोमोसो दल्न हुँदैन भनेर इन्कार गरेँ ।’ माघ ११ गतेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको थियो ।

आफूलाई वनको रक्षा र प्रवद्र्धन गर्न तथा वन प्रशासनमा देखिएको विकृति हटाउन नै प्रधानमन्त्री केपी शर्मा ओलीले वन मन्त्री बनाएको भन्दै उनले प्रलोभनमा आफू कहिल्यै नपर्ने र कोही पनि प्रलोभनमा नपर्न आग्रह गरे । वैज्ञानिक रुपमा वनको व्यवस्थापन गर्ने कार्यक्रकमा नाममा वन फडानी गर्ने, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई बदनाम गर्ने जस्ता गतिविधि मौलाएपछि नै प्रधानमन्त्री ओलीले तयसलाई रोक्न आफूलाई बन मन्त्रालयको जिम्मेवारी दिएको उनको भनाइ छ।

प्रतिनिधि सभाको लेखा समितिअन्तर्गतको उपसमितिमा रहेर वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमबारे अध्ययन गर्दा पनि आफूलाई जिल्लाका वन अधिकृत, क्षत्रीय निर्देशक, काठ व्यवसायी तथा कर्मचारी लगायतले आर्थिक प्रलोभन देखाएको उनले दाबी गरे । सरोकारवालासँग छलफल गरेर नै वन सम्बन्धी नियमावली बनाउने समेत मन्त्री आलेले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया