हात्ती बचाउन उपचार शिविर

चितवन । चितवनमा हात्ती मर्न थालेपछि हात्ती उपचार शिविर सुरु गरिएको छ । प्राकृतिक कारण चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका छ वटा हात्ती मरिसकेका छन् ।

चितवन रास्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले संयुक्त रुपमा उपचार शिविर सुरु गरेको हो । शिविरमा सरकारी र निजिस्तरका हात्तिहरुको उपचार गरिने छ । हात्ती प्रजनन् केन्द्र खोरसोरमा सोमबार औपचारिक कार्यक्रम गरि उपचार शिविरको उद्घाटन गरियो ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले शिविरको उद्घाटन गरे । शिविरको उद्घाटनसँगै प्रजनन् केन्द्रमा रहेका ११ वटा माउ र ९ वटा छावाको उपचार सुरू गरिएको पशु चिकित्सक अमिर सडौलाले जानकारी दिए । हात्तीलाई जुकाको औषधि, खुट्टाको नङ काट्ने,रगत परीक्षण गरिने उनले जानकारी दिए ।निकुञ्जका पोष्ट-पोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गरिने छ । अर्को महिना गैंडा गणना गर्ने कार्यक्रम भएकाले त्यसअघि हात्तीको स्वास्थ्य जाँच सुरू गरिएको हो । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकहरु परीक्षणमा सहभागी छन् । हाल निकुञ्जमा ५६ वटा हात्ती रहेका छन् । ६ वटा कोशी वन्यजन्तु आरक्षमा दरबन्दी भएर पनि यही काम गरिरहेका छन् ।

निकुञ्जको खोरसोरमा हात्ती प्रजनन केन्द्र रहेको छ । त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालीमपछि काममा पठाउने गरिन्छ । निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ । चितवनमा ५६ वटा सरकारी र करिब ६० वटा निजी हात्तीहरु रहेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा।बाबुराम लामिछानेले आसन्न गैंडा गणनामा प्रयोग गरिने हात्तीको स्वास्थ्य मजबुत बनाउन शिविर आयोजना गरिएको बताए ।

प्रतिक्रिया