ओलीको निर्वाचन क्षेत्रमा ६४ अर्बको औद्योगिक पार्क !

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को निर्माण सुरु भएको छ । सो औद्योगिक पार्कको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । औद्योगिक पार्क चिनियाँ लगानीमा निर्माण हुन लागेको हो ।

झापाको दमक तथा आसपासका गौरादह नगरपालिका र कमल गाउँपालिकाका एकीकृत जग्गामा पार्क बन्नेछ । यो प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र पनि हो । सो औद्योगिक पार्क १ हजार ३०० बिघा क्षेत्रफलमा फैलने चीन-नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिए । उनका अनुसार पार्कको पूर्वाधार बनाउन लगानी बोर्डले ६५ अर्ब रुपैयाँ चिनियाँ लगानी भित्र्याउनका लागि स्वीकृति दिएको थियो ।

चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट कन्स्ट्रक्सन कम्पनी लिमिटेडले बनाउनेछ । पार्क बनाउने सम्पूर्ण रकम चीनको नै हुनेछ । दुई वर्षभित्रमा औद्योगिक पार्क बनिसक्ने बताइएको छ । सरकारले व्यक्तिगत जग्गा अधिग्रहण गरेर सो पार्क बनाउन लागेको हो । जग्गा अधिग्रहण गरेबापत स्थानीयवासीलाई १ अर्ब ३६ करोड रुपैयाँ मुआब्जा दिनुपर्नेमा हालसम्ममा ९५ करोड रुपैयाँ वितरण भएको छ ।

पार्क सञ्चालनबाट ४५ हजार नेपालीले प्रत्यक्ष रोजगारी पाउने छन् भने पार्कमा कृषि, टेक्सटाइल, मोबाइल, विद्युतीयलगायत २६ वटा कारखाना स्थापना हुनेछन् । सरकारले ४० वर्षको लागि औद्योगिक पार्कलाई भाडामा दिएको हो । त्यहाँबाट उत्पादित वस्तु विदेश निर्यात गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले जानकारी दिएका छन् ।

यसअघि औद्योगिक पार्क बनाउन बोर्ड र ल्हासा इकोनोमिकबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । पार्कको नाम ‘चाइना-नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क’ राखिएको छ ।

प्रतिक्रिया