अझै अनिश्चित ‘नेपालको रेल’

  • पुष्प कोइराला

काठमाडौं । नेपालमा रेल चलाउने कुरा पनि कथाजस्तै हुँदै आएको छ । प्रधानमन्त्रीले मिति तोकेरै रेलको टिकट काट्न तयार हुनुहोस् भनेर भाषण गरेपनि वा रेलसेट किनेर ल्याइसके पनि नेपालको रेल कहिलेदेखि चल्छ भनेर भन्न सकिने अवस्था अझै छैन ।

अर्थात्, नेपालको एकमात्र रेल सेवा सञ्चालन अनिश्चित बनेको छ । धनुषाको कुर्थाबाट जनकपुर हुँदै भारतको जयनगरसम्म चलाउन भारतबाट दुईवटा ‘ट्रेन सेट’ खरिद गरेर ल्याएको ६ महिना हुन लागेपनि उक्त रेलसेवा कहिलेदेखि सञ्चानल हुन्छ भनेर किटान गर्न सकिने अवस्था छैन ।

‘नेपाल रेल्वे कम्पनीले जिम्मा लिनुअघिसम्म रेल विभागले नै उक्त रेलमार्ग तथा रेल सेवा सञ्चालका लागि आवश्यक तयारी अघि बढाएको थियो,’ रेल विभागका प्रवक्ता अमन चित्रकारले मकालु खबरसँग भने, ‘अब रेल सञ्चालनको समग्र व्यवस्था मिलाउने काम उक्त कम्पनीको हो । जनशक्ति र नीतिगत व्यववस्थाको अभावमा सो कम्पनीले पनि रेल सञ्चालनमा ल्याउने मिति किटान गर्न सकेको छैन ।’

उनका अनुसार रेलका चालक, सहचालकलगायत प्राविधिक जनशक्ति र कर्मचारीकै व्यवस्थापन हुन सकेको छैन । गत भदौमा नेपाल रेल्वे कम्पनीले १ सय ३० जना कर्मचारी करारमा भर्ना लिने गरी प्रक्रिया अघि बढाएको थियो । तर, कर्मचारी लोकसेवा आयोगमार्फत पदपूर्ति गर्नुपर्ने भन्दै विवाद भएपछि त्यो प्रक्रिया अन्त्य भयो ।

त्यसको केही समयपछि असोजमा भारतसँग ८४ करोड ६५ लाखमा खरिद गरिएका दुईवटा रेल सेट नेपाल आइपुगे । तर, कर्मचारी अभावमा सञ्चालन नभई थन्क्याएर राख्नुपरेको छ ।

सुरुमा नेपालले उक्त रेल सञ्चालनका लागि भारतलाई वेट लिजमा दिने प्रस्ताव अघि बढाउन लागेको थियो । वेट लिजमा दिँदा भारतकै स्वामित्वको रेल भारतकै व्यवस्थापनमा चलाउन सकिन्थ्यो । ‘यसमा भारतले रेल उपलब्ध नगराउँदा नेपालमा सेवा बन्द हुने सम्भावना हुन्थ्यो,’ प्रवक्ता चित्रकारले भने, ‘नेपालले नै रेल किन्दा राम्रो भयो । व्यवस्थापनको जिम्मा भारतलाई दिँदा हुन्थ्यो ।’

रेल विभागका पूर्वप्रवक्ता प्रकाश उपाध्याय पनि रेल सञ्चालनको मोडालिटी नै गलत भएको बताउँछन् । ‘नेपालका कर्मचारी तथा प्राविधिकलाई पनि सिकाउँदै दक्ष बनाउँदै लाने शर्तमा रेल सञ्चालको जिम्मा भारतीय कम्पनीलाई दिनुपर्छ भनेर हामीले त्यतिबेला तयारी पनि गरेका थियौं,’ उनले भने, ‘आफैंले चलाउँछौं भनियो तर हामीसँग न अनुभव छ न दक्ष कर्मचारी नै । त्यसो हुँदा रेल चल्न सकेन ।’

रेल सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था गर्न ऐनको मस्यौदा संसदमा टेबुल गरिए पनि त्यो ऐन पास हुन सकेको छैन । अध्यादेशमार्फत् कानुनी व्यवस्था गरेर रेल चलाउने तयारी गरिए पनि यो अन्तरदेशीय रेलमार्ग भएकोले भारतको सहमति र सक्रियता नभई रेल सञ्चालनमा आउन नसक्ने प्रवक्ता चित्रकारले बताए ।

स्टार्ट गर्दै राख्दै रेल

दुवै रेल सेट धनुषाको इनरवामा रहेको ट्रयाकमा थन्क्याएर राखिएको छ । ‘बेला बेला इन्जिन स्टार्ट गरेर इन्जिनलाई चालु हालतमा राख्ने काम भने भइरहेको छ,’ प्रवक्ता चित्रकारले मकालु खबरलाई जानकारी दिए ।

रेलको सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाइएको छ । रेल्वे कम्पनीमा विगतका बाँकी १४ कर्मचारीसमेत रेलमार्गको संरचनागत सुरक्षाका लागि खटाइएको भए पनि प्रभावकारी काम हुन सकेको छैन ।

रेलका ट्रयाकमा बिच्छ्याइएका पटरी अड्याउन प्रयोग गरिएका झण्डै ५ हजार क्लिप चोरी भएको छ । त्यस्तै, स्टेशनका झ्याल, ढोका, ट्युवेललगायत संरचना पनि चोरी तथा तोडफोड भएका छन् । भारतले बनाइदिएको उक्त रेलमार्गमा हराएका र तोडफोड भएका सामान पुनः जडान गर्ने तथा मर्मत गर्ने काम पनि भारतले नै गरिरहेको रेल्वे कम्पनीले जनाएको छ । यो रेलमार्ग १९९४ सालदेखि सञ्चालन न्याराेगेज रेल २०७१ सालबाट बन्द गरिएकाे थियाे । न्याराेगेज विस्थापन गरी साेही मार्गमा अहिले ब्रोडगेज रेलमार्ग निर्माण गरि रेल चलाउने तयारी गरिएको हो ।

साइकलभन्दा सुस्त गतिको रेल

हालको रेल प्रतिघण्टा १०० किलोमिटरको गतिले गुड्ने गरी डिजाइन गरिएको भनिए पनि यो रेलमार्गमा प्रतिघण्टा औसत ४५ किलोमिटरको गतिमा मात्र रेल चलाउन सकिने देखिएको छ ।

धनुषाको कुर्थादेखि जनकपुर हुँदै जयनगरसम्म ३५ किलोमिटर रेलमार्गमा ८ वटा स्टेशन छन् । औसत साढे ४ किलोमिटरमा एउटा स्टेशन पर्छन् । नेपाल रेल्वे कम्पनीका एक अधिकारीले भने, ‘स्टेसनहरुमा रोक्न केही दूरी अघिबाटै गति कम गर्नु पर्ने हुँदा तिब्र गतिमा गुड्न पाउँदैन ।’

हाल निर्माण गरिएको रेलले सो दूरी पार गर्न डेढ घण्टाभन्दा बढी समय लगाउँछ । यसले गर्दा एउटा रेलले ३५ किलोमिटरको दोहोरो यात्रा पूरा गर्न ३ घण्टाभन्दा बढी लाग्नेछ ।

कुर्थादेखि जयनगरसम्म पुग्न लाग्ने समयलाई मात्रै हिसाब गर्ने हो भने सञ्चालनमा आउन लागेको ५.६ फिटे ट्रयाकको रेलले प्रतिघण्टा २३ किलोमिटर दूरीमात्रै छिचोल्न सक्छ । जबकी विगतको २.६ फिटे ट्रयाकमा चल्ने पुरानो रेल पनि प्रतिघण्टा २० किलोमिटरको गतिमा कुद्ने गरेको थियो ।

छोटो दूरीमा धेरैवटा स्टेसन भएकाले यात्रु चढाउने र ओराल्ने समय बढी लाग्ने देखिएको छ । एक स्वस्थ मानिसले पिच रोडमा साइकललाई ३० देखि ३५ किलोमिटर प्रतिघण्टाको दरले दौडाउन सक्छ । यो हिसाबले नेपालको पहिलो ब्रोडगेज रेलको गति साइकलको भन्दा कम हुने देखिएको छ ।

चलाउन सकिन्छ एक्सप्रेस रेल

हाल डिजाइन गरिएको रेलमार्गमा ‘लोकल रेल सेवा’ सञ्चालन गर्ने तयारी गरिएको हो । तर, यही मार्गमा एक्सप्रेस रेल सञ्चालन गर्न पनि सकिने नेपाल रेल्वे कम्पनीका अधिकारी बताउँछन् । ‘समय मिलाएर एक्सप्रेस रेल सञ्चालन गर्ने हो भने प्रतिघण्टा ५० किलोमिटरको गतिसम्ममा रेल सञ्चालन गर्न सकिन्छ ।

विश्वमा तीव्र गतिको विद्युतीय रेल, नेपालमा डिजेल इन्जिन

हाल विश्व प्रचलनमा ४ फिट साढे ८ इन्च चौडाइका रेल्वे ट्रयाकमा चल्ने रेल प्रचलनमा छन् । धेरै देशले यसलाई स्टाण्डर्ड गेजको रुपमा अपनाउन थालेका छन् । स्वयं भारतले पनि न्यारो र ब्रोड गेजलाई हटाएर स्टाण्डर्ड गेजमा रेलमार्ग निर्माण सुरु गरेको छ ।

नेपालमा पनि यस्तो स्टान्डर्ड गेजमा रेलको डिजाइन र निर्माण गरिएको भए ती देशमा उत्पादन भएका रेल, पाटपूर्जा तथा प्रविधि जनकपुर जयनगर रेलमा पनि लगाउन सकिने थियो । तर, यो रेलमार्ग ब्रोडगेजमा डिजाइन गरिएको छ, जसका लागि भारतले नै रेल सेट पाटपूर्जा तथा प्रविधि उपलब्ध गराउनु पर्छ । मतलब, यो रेलमार्गमा रेलसेवा सञ्चालनका लागि भारतमै भर पर्नु अनिवार्य छ ।

सिंगल ट्रयाकमा रेल सञ्चालन गर्दा एउटै समयमा दुवै तर्फबाट चलाउन सकिँदैन । दुवै बिन्दुबाट एकैपटक रेल सुरु गरे पनि बिचको कुनै एक स्टेशनमा रोकेर ट्रयाक परिवर्तन गरी दुवैले दुवैलाई बाटो दिनुपर्छ । यसले समय र झण्झट बढाउने जानकारहरु बताउँछन् । त्यसैले भारतले नै पनि आफ्ना धेरैजसो रेलमार्गलाई डबल ट्रयाककाे बनाइरहेको छ । तर भारतले त्याग्दै गएको सिंगल ट्रयाकको रेल पनि नेपालमा भने सञ्चालनमा ल्याउन सकिएको छैन ।

रेल सञ्चालमा जापान, चीन र भारतलबीच तीव्र प्रतिस्पर्धा छ । प्रतिघण्टा २०० किलोमिटर वा सोभन्दा तीव्र गतिका रेललाई ‘हाइस्पिड रेल’ मानिन्छ ।

जापानले प्रतिघण्टा ६०३ किलोमिटर, फ्रान्सले ५७४ किलोमिटर र चीनले ५०१ किलोमिटर प्रतिघण्टा चल्ने हाइस्पिड रेल सञ्चालनमा ल्याइसकेका छन् । भारत पनि ‘हाइस्पिड रेल’ सञ्चालनमा ल्याउने दौडमा छ । हाल दिल्लीदेखि झाँसीसम्म १६० किलोमिटर प्रतिघण्टाको दरले चल्ने ‘गतिमान एक्सप्रेस’ भारतको सबैभन्दा तीव्र गतिको रेल हो ।

भारतमा र विश्वमै विस्थापनको क्रममा रहेको ब्रोडगेज, सिंगल ट्रयाक र डिजेल इन्जिनको रेल हामीले नेपालमा सञ्चालनमा ल्याउन लागेका छौं । त्यो पनि अनिश्चित छ । यद्यपि यो रेल भारतको झण्डै १० अर्ब रुपैयाँ अनुदानमा भारतले नै निर्माण गरिदिएको हो ।

‘भारतले अनुदानमै बनाइदिएको भए पनि हामीलाई विश्व प्रचलनमा रहेको कमसेकम स्ट्याण्डर्ड गेज र विद्युतीय रेल बनाउन नेपाली पक्षले प्रस्ताव गर्नुपर्ने थियो,’ रेल्वे कम्पनीका उच्च अधिकारीले मकालु खबरसँग भन्छन्, ‘त्यसमा हामी चुक्यौं, अब पूर्व–पश्चिम र अन्य रेलमार्गमा पनि यस्तो गल्ती नदोहोरियोस् ।’

विद्युतीयमा रुपान्तरण गर्न सकिने

नेपालमा हाल सञ्चालनमा ल्याउन लागेको सेल डिजेल इलेक्ट्रिक मल्टिपल युनिट (डीईएमओ) प्रविधिको हो । तर, यसलाई पनि विद्युतीय रेलमा रुपान्तरण गर्न भने सकिने रेल विभागका प्रवक्ता अमन चित्रकार बताउँछन् ।

‘रेलमार्गमा विद्युतीय लाइनको व्यवस्था गरेर विद्युतीय रेल खरिद गरे यही ट्रयाकमा विद्युतीय रेल चलाउन पनि सकिन्छ,’ उनले भने, ‘भारतले पनि आफ्ना धेरै रेलमार्गलाई हाल विद्युतीय रेल ट्रयाकमा रुपान्तरण गरिरहेको छ ।’

सरकारले निकै प्रतिष्ठाका साथ पेश गरेको नेपालको रेल सञ्चालन भइसकेपछिका केही वर्षमै शायद यसलाई स्ट्याण्डर्ड गेज वा विद्युतीय बनाउने भन्ने बहस शुरु हुनेछ । पहिले त अहिलेकै रेल चल्ने दिन आउनुपर्‍यो ।

प्रतिक्रिया