निर्वाचन आयोगको भूमिकामाथि नारायणकाजीका ५ प्रश्न

कामठाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगको भूमिकाप्रति प्रश्न तेर्स्याएका छन् । प्रवक्ता श्रेष्ठले शनिबार आफ्नो आधिकारिक फेसबूकमार्फत् आयोगको भूमिकाप्रति ५ प्रश्नहरु उठाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् भंग गर्ने निर्णयलाई नै सर्वोच्च अदालतले भंग गरेपछि दाहाल–नेपाल समूह निर्वाचन आयोग पनि चाँडोभन्दा चाँडो निर्णयमा पुग्नुपर्ने अडानमा छ भने सँगै उसले आफ्नो पक्षमा निर्णय हुनुपर्ने दाबीसमेत गरिरहेको छ ।

आफूसँग नेकपाको बहुमत भएको बताउँदै यो समूहले आफ्नो पक्षमा निर्णय हुनुपर्ने बताइरहेको हो । यसैअन्तर्गत शुक्रबार मात्रै अध्यक्ष दाहालले आफूहरु बहुमत भएको र विधानमा पनि बहुमतलाई नै आधिकारिक मान्नुपर्ने प्रावधान राखिएकाले निर्वाचन आयोगको निर्णय आफ्नो पक्षमा हुनुपर्ने बताइसकेका छन् ।

यद्यपि सर्वोच्चले फैसला गरिसक्दा पनि आयोगले कुनै तदारुकता नदेखाएपछि यो समूह आयोगसँग रुष्ट देखिएको हो ।  खासगरी यही समूहका नेताहरुले निर्वाचन आयोगले चाँडो निर्णय गर्नुपर्ने बताइरहँदा प्रवक्ता श्रेष्ठले ५ प्रश्नहरु उठाएका हुन् ।

यस्तो छ, प्रवक्ता श्रेष्ठले निर्वाचन आयोगको भूमिकामाथि उठाएका ५ प्रश्नहरुः–

  • १, निर्वाचन आयोगले हाम्रो पार्टीले विधानसम्मत् गरेको संगठनात्मक निर्णयको जानकारी गराएर अध्यावधिक गर्न अनुरोध गर्दा अध्यावधिक नगरेर गैरकानूनी ढंगबाट विवाद निरुपणको प्रक्रियाअन्तर्गत आउन बाध्य पार्ने र त्यस अवस्थामा बाध्यतावस् पार्टीको आधिकारिकताको विवाद निरुपणको निम्ति अनुरोध गर्दा निर्णय नदिने काम किन र के उद्देश्यका निम्ति गरिरहेको छ ?
  • २, एउटा संवैधानिक अंग सर्वोच्च अदालतले सारा दबाब, धम्की र प्रतिगामी षड्यन्त्रलाई चिर्दै भर्खरैमात्र संविधान र लोकतन्त्रको रक्षाको पक्षमा गरेको ताजा ऐतिहासिक फैसला सबैका लागि प्रेरक रहेको छ । तर निर्वाचन आयोग के गर्दैछ ?
  • ३,सर्वोच्च अदालतमार्फत् पूरा हुन नसकेको प्रतिगामी योजनाको सेवामा के निर्वाचन आयोग प्रयोग होला त ?
  • ४, अदालतले दिएको सकारात्मक निकासलाई कार्यान्वयन हुनबाट रोक्ने हतियार निर्वाचन आयोग बन्ला त ?
  • ५, संविधानलाई बचाउने अदालतको फैसलालाई निष्प्राण बनाउदै संविधान र कानुनलाई नाङ्गै लत्याउने काम निर्वाचन आयोगबाट होला त ?
प्रतिक्रिया