नेप्से परिसूचक र कारोबार दुवै घट्यो

काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेपाली शेयर कारोबार परिसूचक नेप्से झण्डै ४५ अंकले घटेको छ ।

विहीबार ४४.९४ अंकले घटेको नेप्से २५५४.१३ विन्दुमा आइपुगेको छ । विहीबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । विहीबार ६ अर्ब ७० करोड रुपैयाँको शेयर कारोबार भएकोमा शुक्रबार ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार रुपैयाँको मात्र शेयर खरिद विक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

समग्र नेप्से ओरालो लागेपनि विहीबार चन्द्रागिरी हिल्सको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ३४ रुपैयाँ बढेर ३७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, यस दिन नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८.२२ प्रतिशत बढेको छ ।

विहीबार, कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.१७ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकिङ्ग, व्यापार, विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य, र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

विहीबार, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को शेयर सबैभन्दा धेरै ९० करोड ३५ लाख ६७ हजारभन्दा बढीको किनबेच भएको छ । त्यसैगरी, नबिल बैंक, नेशनल हाइड्रोपावर र नेपाल बैंकको शेयर २१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया