प्रचण्ड–माधवलाई जसपाका नेताकाे प्रश्न– तपाईंहरूको पार्टी कुन हो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव पक्ष र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।

छलफलमा आगामी दिनमा सहकार्य गरेर जान प्रचण्ड-माधव पक्षले प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए । छलफलमा जसपा नेताहरुले प्रचण्ड–माधव पक्षको पार्टी कुन हो भन्ने स्पष्ट पार्न आग्रह गर्दै आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने भनेकाे उनले बताए ।

उनले भने, ‘उहाँहरूले कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ की भनेर हामीसँग कुरा राख्नुभयो ।  तपाईँहरूको पार्टी कुन हो ? भनेर जिज्ञासा राख्यौँ र पार्टी सिस्टममा पार्टी चाहियो भन्याैँ ।’

भेटवार्तामा जसपा नेताहरुले पटक-पटक आफूहरुले गरेको सहमतीमा धोका पाएकाे स्मरण गराएका थिए ।

जसपा नेताहरुले आफ्नो पार्टीका सांसद रेशम चौधरी लगायतका नेताहरु अझैपनि जेलमा रहेकाे उल्लेख गरेका थिए । जसपाका वरिष्ठ नेता महतोले भने, ‘हाम्रा आन्दोलनकारी साथीहरु, निर्वाचित सांसद रेशम चौधरी लगायतले अहिलेपनि बन्दी जीवन बिताइरहेका छन् । यी सवालहरु हामीले प्राथमिकताका साथ उठाएका छाैँ र माग पुरा नभएसम्म आगामी दिनमा पनि उठाइरहन्छाैँ भनेका छाैँ ।’

सर्वोच्च आदालतले प्रतिनिधि सभाको पुन:स्थापनाको फैसला सुनाएसँगै आगामी दिनमा सत्ता समिकरणको लागि नेकपा प्रचण्ड–माधव पक्षका नेताहरुले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया