जसपा नेताहरुसँग प्रचण्ड–नेपालले गरे छलफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र सत्तारुढ नेकपाका प्रचण्ड–नेपाल समूहबीच सत्ता साझेदारीको विषयमा छलफल भएको छ ।

जसपाका नेताहरुले नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसँग छलफल गरेका हुन् । छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठ लगायत उपस्थित थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारूढ नेकपा नै दुई समूहमा विभाजित भएको थियो । प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री केपीकाे कदमकाे विराेधमा सडकमा उत्रिएकाे थियाे भने ओली समूहका नेताहरूले उनकाे कदमकाे समर्थनमा प्रदर्शन गर्दै आएका थिए ।

सर्वाेच्च अदालतले समेत संसद पुनःस्थापना गर्ने फैसला सुनाएसँगै सबै दलहरू सत्ता साझेदारीका लागि दाैडधुपमा छन् ।

प्रचण्ड–नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र पारेकाे अवस्थामा जसपाले पनि साे समूहसँग सहकार्य गर्न सक्ने जनाएको छ । प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद छन्, जसमध्ये हरिनारायण रौनियार र रेशम चौधरी विभिन्न मुद्दामा निलम्बनमा परेका छन् ।

प्रतिक्रिया