ओली समूहको स्थायी समिति बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षकाे स्थायी समिति बैठक आज (बिहीबार) पनि बस्दैछ ।

प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वाेच्च अदालतकाे फैसलापछिकाे राजनीतिक अवस्था र रणनीतिबारे छलफलका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षीय बैठक डाकिएकाे हाे ।

बुधबार पनि ओली समूहकाे स्थायी समितकाे बैठक बसेकाे थियाे । बैठकमा सर्वोच्चको फैसलालाई सम्मान गर्ने, १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने र केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने लगायतकाे निर्णय भएकाे थियाे ।

सर्वोच्च अदालतले गएकाे मंगलबार प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै संसद पुनःस्थापना गर्ने फैसला गरेकाे थियाे । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले सर्वोच्चको संवैधानिक इजलासले सरकारको निर्णय बदर हुने फैसला गरेको हो ।

निर्णयको व्यहोरा वाचन गर्दै प्रधानन्यायाधीश जबराले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका थिए ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनकाे निर्णय गर्दै वैशाख १७ र २७ गते निर्वाचनकाे घाेषणा गरेकी थिइन् । सरकारकाे उक्त निर्णयकाे विराेधमा सर्वाेच्चमा १३ वटा रिट परेकाे थियाे ।

प्रतिक्रिया