राष्ट्रपति र प्रधानमन्त्रीमाथि बामदेवको कटाक्ष- नैतिकताको प्रश्न नीति मान्नेलाई मात्रै उठ्दाे रहेछ

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने बताएका हुन् ।

बुधबार बिहान कुराकानीका क्रममा नेता गौतमले पार्टी एकता र राष्ट्रिय राजनीतिमा देखिएको गाँठो फुकाउने पहल पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गर्नुपर्ने बताए । पार्टीकाे तत्कालिन गतिविधिबारे नेता गाैतमसँग गरिएकाे कुराकानी:

प्रतिनिधि सभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ ?

सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको यो निर्णयले नेपालको संविधानको संरक्षण गरेको छ । यो निर्णयले नेपाली जनताको सार्वभौम अधिकारलाई पुन:स्थापित गरेको छ । र यसले स्वेच्छाचारी तरिकाले मनपरी गर्दै हिँड्न पाइँदैन भनेर अनुशासन बोध पनि गराएको छ । त्यसैले यो निर्णय नेपालको संविधान बमोजिम, नेपालको संविधानको मर्म र भावनाबमोजिम र हामीले निर्माण गरेको संविधानको अक्षरसँग पनि सम्बन्धित बनाएर निर्णय भएको छ ।

प्रतिनिधि सभा भङ्ग गर्ने काम असंवैधानिक हो र यससँग सम्बन्धित भएर सरकारले जतिपनि काम गरेको छ, त्यो सबै असंवैधानिक हुन् भनेको हुनाले प्रतिनिधि सभा मात्रै पुन:स्थापित होइन अरु धेरै कामहरु पनि असंवैधानिक भएको हुनाले खारेज हुन्छन् । ज्यादै ठूलो ऐतिहासिक महत्व राख्ने निर्णय भएको छ । मैले यसलाई ऐतिहासिक निर्णय भनेर भनेको छु ।

मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयले राष्ट्रिय राजनीति, पार्टीभित्रको राजनीति सबै खलबलिएको थियो । संसद पुनःस्थापनापछि दुवै समूह एक हुने सम्भावना कति कस्ताे छ ? तपाईँले उठाउँदै आउनुभएको पार्टी एकताको कुरा कुन सिराबाट शुरु हुन्छ ?

पार्टी एकताको पहल गर्नुपर्ने दुई अध्यक्षले हो । दुवै अध्यक्षले पार्टी एकीकरण गर्ने विषय उठाउनु भएन । पार्टी त विभाजन भइसक्यो, अब मिल्न सक्दैन भन्ने पुष्पकमल दाहाल प्रचण्डको भनाई आयो । उहाँले पार्टी फुटाएको हामीले होइन, फुटाएको प्रधानमन्त्री केपी शर्मा ओलीले हो भनेर भन्नुभएको छ । उता ओली पक्षले पार्टी फुटाउने काम प्रचण्ड र माधवकुमार नेपालकाे हाे भनेर भनिरहेका अवस्था छ । राम्रो भएमात्रै आफूले जिम्मा लिने, नराम्रो भए अरूमाथि दाेषाराेपण गर्ने चलन छ ।

नेपाली जनताले विश्वास गरेको त्यस्तो पार्टीलाई उहाँहरूले फुटाउनु भएकाे छ । अब सर्वाेच्च अदालतकाे फैसला समेत आइसकेको अवस्थामा अब दुवै अध्यक्षले नेकपा जाेड्ने कामकाे थालनी गर्नुपर्छ । यद्यपी सर्वोचच अदालतले गरेको निर्णय हाम्रो पार्टीभित्र लागू हुँदैन, पार्टीभित्र पार्टीको विधान लागू हुन्छ । त्यसैले पार्टीका नेताहरुले त्यो गर्नुभएन भने हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरुले एकता गर्नको निम्ति पहलकदमी गर्छौं र यो निरन्तर अगाडि बढ्छ ।

पार्टी एकताका निम्ति पहिलाे कदम कसले उठाउनुपर्छ ?  

जसले मैले जितेको छु भनेर भन्नुभएको छ उहाँबाट शुरु हुनुपर्ने हो । हिजो प्रचण्डले विभिन्न मिडियामा बोल्नुभएको प्रतिक्रिया मैले सुने । उहाँले चाल्नुभएको कदम सही र ओलीले चाल्नुभएको कदम गलत सावित भइसकेकाे छ । यस्तो अवस्थामा पुनः पार्टी एकीकरणको निम्ति प्रचण्ड र माधवले भूमिका खेल्नुपर्ने हो । पराजित भएकाले भनेको त अरुले मान्दैनन् ।

तर उहाँहरूले त्यस्तो भन्नुभएको मैले पाइनँ । उहाँहरू त केवल मैले बनाएको पार्टीमा आउनुहोस् भनिरहनु भएकाे छ । एकताकाे जिम्मेवारी कसैले उठाउन चाहेकाे मैले देखिनँ ।

अब तपाईं के गर्नुहुन्छ ?

मैले औपचारिक र अनौपचारिक रुपमा एकताको निम्ति प्रयत्न गर्ने हो । पहिला म दुवै अध्यक्षलाई नै गएर एकताका कुरा राख्छु । पार्टी एकताको निम्ति पहल गर्नुहोस् भनेर महासचिवलाई भन्छु । केपी ओलीले असंवैधानिक काम गर्नुभयो तर असंवैधानिक काम गरेपछि सर्वोच्च अदालतले त्यसलाई सुधार गरिसक्यो । उहाँको कदम असंवैधानिक छ भनिसकेपछि उहाँले पार्टीमा फर्केर आएर आत्मआलोचना गर्नुपर्छ, तर उहाँले त्यसाे गर्नुभएकाे छैन ।

त्यसैले अब हामीहरुले नै सबै काम गर्नुपर्ने भयो । अरु एकताको पक्षमा रहेका साथीहरु जति हुनुहुन्छ, अब हामी एकताबद्ध हुन्छौँ र एकताका लागि एउटा ठूलो दबाब सिर्जना गर्छाैँ ।

सर्वोच्च अदालतको हिजोको निर्णयबाट सरकार प्रमुख र राष्ट्रपतिमाथि नैतिकताको प्रश्न उठ्छ की उठ्दैन ?

नैतिकताको प्रश्न नीति मान्नेहरुलाई मात्रै उठ्दाे रहेछ । जसले नैतिकता मान्दै मान्दैन उसको निम्ति नैतिकताको प्रश्न पनि उठ्दाे रहेनछ । तर म के ठान्छु भने लामो समय कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले यो नैतिकता बुझ्नुहुन्छ । त्यसकारण प्रधानमन्त्री ओलीले चाल्नु भएको कदम असंवैधानिक भइसकेपछि उहाँले गर्नुभएको काम गलत भइसकेपछि आफूलाई सच्याउनको निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ । हिजै राजीनामा दिनुपर्थ्याे ।

म फेरि पनि यही सूचना केन्द्रबाट भन्न चाहन्छु उहाँले तुरुन्तै राजीनामा दिनुहाेस् । राजीनामा गरेर पार्टी एकताको आव्हान गर्नुहोस् । मैले गल्ती गरेको थिएँ, म आफूलाई सच्याउन चाहन्छु त्यसैबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकताबद्ध भएर अगाडि बढौँ भनेर उहाँले भन्नुपर्छ ।

प्रतिक्रिया