उर्लाबारीमा युवा मृत्यु प्रकरण : प्रहरीको त्रुटीले घटना बल्झियो

विराटनगर । मोरङको उर्लाबारीका प्रविण बास्तोलाको मृत्युको बारेमा आन्दोलन गर्दै आएका मृतकका परिवारसँग सरकारी वकिल कार्यालयमा छलफल भएको छ ।

शङ्कास्पद मृत्यु प्रकरणमा निष्पक्ष छानविनको माग गर्दै मृतकका परिवारले जिल्ला प्रशासन कार्यालयमा घेराउ गरेका छन् भने त्यसै विषयलाई लिएर जिल्ला सरकारी वकिलको कार्यालयमा छलफल भएको छ ।

प्रहरीले हत्यारामा सङ्लग्नलाई उन्मुक्ति दिन मिसिलमा मृतकको फोटो परिवर्तन गरेको आफन्तहरुको आरोप छ । चारजना साथीहरूसँग साँझ खानपिन गरेपछि गत पुस ५ गते मृत फेला परेका प्रविणको हत्या भएको दाबी आफन्तको छ । मृतकका आफन्तले बास्तोलाको हत्या भएको भन्दै ६ जनाविरूद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका छन् ।

प्रहरीका अनुसार अघिल्लो रात साथीभाइसँग होटलमा खानपिन गरेर उर्लाबारी–६ का रमेश गिरीको घरमा बसेका उनको भोलिपल्ट बिहान शव भेटिएको थियो । ओछ्यानमै बेहास अवस्थामा भेटिएको भन्दै उनका साथीले उपचारका लागि गोदावारी अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउँदा प्रमाण नपुगेको र रिपोर्ट नआइपुगेको भन्दै सरकारी वकिलको कार्यालयले हाजिर जमानतमा छोड्न प्रहरीलाई आदेश दिएको थियो ।

मिसिल बुझाउँदा मृतकको तीनवटा फोटो राखेकोमा एउटा फोटो अरु नै व्यक्तिको रहेको खुलेको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले मृतककै साथी उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेली, दीपेश पौडेल र शिवा भनिने मेहरमान दर्जीमाथि अनुसन्धान गरेको थियो ।

माघ २ गते मुद्दा चलाउन प्रमण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयको निर्देशनपछि पक्राउ परेका रणपहेली हाजिरी जमानीमा छुटेका थिए । मृतककी बहिनी सदीक्षाले इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेर मिसिल हेर्दा मृतकको फोटो नै परिवर्तन भएको भेटेपछि आफन्त र स्थानीय प्रहरीको भूमिकाप्रति आक्रोसित हुँदै आन्दोलनमा छन् । प्रहरीले भुलवस फोटो परिवर्तन भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले मिस्टेकले एउटा गलत फोटो परेको बताए ।

आफन्तले अनुसन्धानमा चित्त नबुझाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले छानविन समिति गठन गरेको जनाएको छ । प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा तीन जनाको छानविन समिति गठन भएको छ । छानविन समितिलाई ७ दिनको समय दिइएको छ ।

प्रतिक्रिया