प्रधानमन्त्रीद्वारा नागढुंगा–नौबिसे सुरुङमार्ग निरीक्षण

काठमाडौं । हरेक वर्ष फागुन ९ गते इन्द्रदहमाआयोजनाहुने पर्यटनमहोत्सवमा सरिक हुने र त्यहाँ पर्याप्त समय दिएर फर्केने प्रधानमन्त्री केपीशर्मा ओलीको कार्य तालिका यस वर्ष केही परिवर्तन भयो । कारण थियो, इन्द्रदहकै दक्षिणतर्फको फेदीमा सुरु भइरहेको नागढुंगा नौबिसे सुरुंगमार्गको पूर्वी प्रवेशद्वारको नीरीक्षण ।

देशलाई सम्मृद्धितर्फ लैजान रेल र पानीजहाजसम्मको पूर्वाधार विकासको मार्ग देखाएका प्रधानमन्त्री ओलीको प्राथमिकतामा सुरुङमार्ग समेत पर्छ । डाडाँकाडाँ उकालो ओह्रालो तथा असंख्य घुम्तिहरु पार गर्दै हिँडने सडक अब सुरुंग मार्गबाट निमेष भरमै पार गर्दैछ । देश अब सुरुंग युगमा प्रवेश गरिसकेको बताउने प्रधानमन्त्री ओलीले दहचोकको डाँडाको टुप्पोमै जनतालाई हौस्याउँदै भनेका थिए–‘अब थानकोटबाट फुत्त नौबिसे पुग्ने दिन आउँदैछ ।’

इन्द्रदहको कार्यक्रम सकेर सुरुंगको प्रवेशद्वार पुगेका प्रधानमन्त्रीओलीलाई आयोजनाका पदाधिकारीले सुरुंगको विशेषता, हाल भइरहेको कार्य, उत्पन्न चुनौति र कोभिडका कारण परेको असर बारे जानकारी गराएका थिए । उनीहरुका अनुसार कुल २.६८ किलो मिटर लम्बाईको दुई लेनको यो सुरुंग मार्ग नेपालमै पहिलो पटक फ्लाई ओभर तथा तीन वटा पुल र दुई अण्डर पास सहित निर्माण हुँदैछ । यसमा पानी पटाउने, आकस्मिक उद्धार र सुरुंगभित्र २४ सै घन्टा प्रकाश अक्सिजनको मात्रा सन्तुलन गर्ने प्रणाली र सिसिटिभि समेत हुने छ ।

अधिकारीहरुबाट प्रारम्भिक विवरण सुनेपछि प्रधानमन्त्रीले त्यहाँ कार्यरत मजदुरलाई धन्यवाद दिँदै काम राम्ररी गर्न हौस्याएका छन् । मुलुकका प्रधानमन्त्रीले आफू तिर हेर्दै धन्यवाद भनेपछि उत्साहित मजदुरले प्रधानमन्त्रीसँग सामूहिक फोटो पनि खिचाएका थिए ।

गत २०१९ को नोभेम्बर महिनामा सुरु भएको ठेक्का मितिले ४२ महिनाभित्र सम्पन्न हुनेछ । अहिले धुनिबेसी नगरपालिकास्थित सुरुंगको पश्चिमी मार्गतर्फबाट ९० मिटर खनिएको छ भने पूर्वतर्फ चन्द्रागिरी नगरपालिकास्थित पूर्वी प्रवेश विन्दुमा २७ मिटर खनिएको छ । त्यहाँ कमलो माटोको भाग सकिएर कडा चटानको भाग सुरु भएपछि सुरुंग निर्माणले तिव्र गति लिने जानकारी निर्माण पदाधिकारीले दिएका छन् ।

प्रतिक्रिया