माथिल्लो तामाकोसीको परीक्षण उत्पादन नयाँ वर्षदेखि !

  • पुष्प कोइराला

काठमाडौं । कुनै व्यवधान नआए माथिल्लो तामोकोसी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन आगामी वैशाखबाट सुरु हुने सम्भावना बढेको छ ।

आयोजनाको विद्युत् गृहमा रहेको टर्वाइनमा पानी खसाल्ने पाइप (हाइप्रेसर पाइप)को परीक्षण सफल भइसकेको र अबको २ महिनामा परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य रहेको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले मकालु खबरलाई जानकारी दिए ।

‘सबैभन्दा जटिल मानिएको दुईवटा ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम अन्तिम चरणमा छ,’ उनले भने, ‘टर्वाइनमा पानी खसाल्ने ६ वटा हाइप्रेसर पाइपको पनि परीक्षण सफल भएको छ । यसले गर्दा आउँदो २ महिनापछि परीक्षण उत्पादन सुरु गर्न सक्छौं भन्ने लागेको छ ।’

डेढ महिनाभित्र आयोजनाको सम्पूर्ण भौतिक संरचनाको परीक्षण सक्ने र त्यसको १५ दिनभित्र जलाशयमा पानी भरेर परीक्षण उत्पादन सुरु गर्नेगरी काम भइरहेको उनले जानकारी दिए ।

भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायत कारणले आयोजनाको उत्पादन मिति पटक पटक सर्दै गएको छ ।
‘यो मेगा प्रोजेक्टलाई सञ्चालनमा ल्याउन हामीले सकेसम्म प्रयास गर्ने हो,’ उनले भने, ‘कहिलेकाहीँ सोचेजस्तो नहुन पनि सक्छ, तर त्यस्तो नहोस् भनेर हामी सचेततापूर्वक काम गरिहेका छौं ।’

पटक पटक उत्पादन शुरु गर्ने लक्ष्य सार्दै आएको ४५६ मेगावाट क्षमताको बहुप्रतिक्षित आयोजनाको भौतिक संरचनाको परीक्षण सकेपछि परीक्षण उत्पादन शुरु गर्ने तयारी रहेको उनले बताए ।

जटिल मानिएका कामहरु करिब पूरा हुँदै गएकाले आउँदो वैशाखबाट आयोजनाको एउटा युनिटबाट परीक्षण उत्पादन गर्न सकिनेमा आयोजना तथा कम्पनी आशावादी देखिएको छ ।

एउटा युनिटको परीक्षण उत्पादन सफल भएपछि चालू आर्थिक वर्षभित्र ६ वटै युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने कम्पनीको तयारी रहेको उनले बताए ।

आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका ६ वटा युनिट छन् । आयोजना क्षमता ४५६ मेगावाट भए पनि अर्धजलायशययुक्त (पिआरओआर) भएकाले सुख्खा मौसममा अधिकतम १०० मेगावाटसम्म मात्र विद्युत उत्पादन हुन सक्छ ।

आयोजनाअन्तर्गत तामाकोसी नदीमा बाँध बाँधेर सुरुङभित्र छिराएको पानीलाई ३१० मिटर गहिरो माथिल्लो ठाडो सुरुङ र ३७३ मिटर गहिरो तल्लो ठाडो सुरुङमा खसालेर ६ वटा हाइप्रेसर पाइपमार्फत् टर्वाइनमा पुर्‍याएर विद्युत् उत्पादन गरिनेछ ।

आयोजनाका यी दुई ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्न २ वर्षभन्दा बढी समय लागेको छ । २०७६ असारबाट पेनस्टक पाइपको जडान सुरु गरिएको थियो । दोलखामा रहेको आयोजना स्थलसम्म पुग्ने सडकको दुरावस्थाका कारण पाइप ढुवानी गर्नै पनि निकै समय लागेको थियो ।

आयोजनाको ३१० मिटर गहिरो माथिल्लो ठाडो सुरुङमा पेनस्टक जडानको जिम्मा भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले लिएको भए पनि उनले काम गर्न नसकेपछि यो कामको जिम्मा समेत अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको थियो ।

समय र लागत दुवै दोब्बर
२०६७ साउनबाट निर्माण सुरु गरिएको आयोजना सुरुमा २०७२ असारसम्ममा सक्ने लक्ष्य थियो । तर, २०७२ सालको भूकम्पले आयोजनास्थलमा जाने सडकमा क्षति पुर्‍याएकाले निर्माण कार्य झण्डै डेढ वर्ष रोकियो ।

०७५ को पुसदेखि आयोजना सञ्चालनमा ल्याउने लक्ष्यका साथ ०७३ मंसिरबाट काम पुनः सुरु भएपनि लक्ष्य फेरि पनि पूरा भएन । लट २ को ठेकदार टेक्सम्याकोको कमजोर कार्य सम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस २०७६ भित्र एक युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादनको लक्ष्य राखियो ।

त्यसपछि २०७७ असारभित्र पहिलो युनिट सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो । त्यो लक्ष्य पनि पूरा नभएपछि अब २०७८ को शुरुबाट भने आयोजना सञ्चालनमा आउने सम्भावना बढेको हो ।

शुरुमा अनुमानित लागत ४८ अर्ब ८६ करोड रहेको आयोजनाको लागत बढेर करिब ९० अर्ब पुग्ने देखिएको छ ।

कम्पनीमा कसको कति छ सेयर ?
आयोजनाको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो लिमिटेड कम्पनीमा कर्मचारी संचय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २/२ अर्ब र नेपाल सरकारले ११ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा सर्वसाधारणको १५, दोलखाबासीको १०, संचय कोषका संचयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत सेयर छ ।

प्रतिक्रिया