‘प्रदेशसभामा दलीय मान्यताविरुद्धको काम भयो’

विराटनगर । नेकपा संसदीय दल (ओली समूह)ले आइतबार बसेको प्रदेशसभाको बैठकबारे असहमती जनाएको छ । एक विज्ञप्ति जारी गर्दै संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संसदीय दलको विधानलाई अस्वीकार गरी प्रदेशसभा सञ्चालन भएको काम कारबाहीप्रति पूर्ण असहमति रहेको उल्लेख गरेका हुन् ।

‘संसदीय दलको विधान बमोजिम प्रदेश सभामा नेकपाको तर्फबाट प्रतिनिधित्व गर्ने केही माननीय सदस्यहरुलाई तीन महिनाको लागि निलम्बन गरिएको र त्यसको जानकारी प्रदेश सभामा गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘संसदीय दलका नेताले यसैसन्दर्भका ध्यानाकर्षण गर्दै माननीय सभामुखसमक्ष पत्र पेश गरिएको थियो । तर तिनै निलम्बित सदस्यलाई संसदीय गतिविधिमा सामेल गराउने कार्यले संसदीय दलको विधानलाई अमान्य गरिएको छ ।’

निलम्बित सदस्यलाई संसदीय गतिबिधिमा संलग्न गराउने कार्यले गलत परम्परा, नजिर स्थापित हुने र जुनसुकै दलभित्र पनि दलिय नियन्त्रण नरहने अवस्था हुने भएबाट अराजकताको स्थिति उत्पन्न हुन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । लोकतान्त्रिक संसदीय परम्परामा विश्वास गर्ने सबै राजनीतिक दलहरुले यस्तो अभ्यासविरुद्ध सचेत हुन नि आग्रह गरिएको छ ।

‘संघीयताको अभ्यास प्रभावकारी, जवाफदेही हुनु पर्दछ । संघीयताको औचित्यता, उपादेयतालाई पुष्टि गर्नु पर्दछ । निजी स्वार्थसिद्ध गर्ने मनसायबाट सिंगो प्रणालीमाथि प्रभाव पार्ने गरी भएका क्रियाकलाप कुनै पनि अर्थमा स्वीकार गर्न सकिदैन,’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :-

प्रतिक्रिया