मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

भाषामा आगम प्रभाव र नेपाली भाषा

  • रवीन्द्र भट्टराई

कुनै पनि भाषाको आफ्नै भाषिक समाज हुन्छ । कुनै पनि भाषाभाषीको भूराजनीतिक समाज भाषिक समाजभन्दा फरक हुन सक्ने अवस्थाहरू धेरै हुन्छन् । नेपालको भूराजनीतिक समाज बहुभाषिक छ र नेपालका सबैजसो मातृभाषाबीचमा आपसी भाषिक प्रभाव छ । नेपालका स्वदेशी भाषाहरूको यस्तो पारस्परिक अन्तरप्रभावसँगै नेपालका भाषाहरूमा विदेशी भाषाहरूको पनि प्रभाव तीब्र छ ।

नेपाल र नेपालीको बढ्दो अन्तर्राष्ट्रिय सम्पर्क र कारोबारको विस्तारसँगै नेपालीलगायत नेपालका मातृभाषामा विदेशी भाषाको प्रभाव ऐँजेरुजस्तै भएर सल्किँदै गएको छ । यो ऐँजेरुले जेलेर भाषाको अस्तित्वै सकिने हो कि भन्ने अनुमान गरिनु अनौठो होइन । यस प्रसङ्गमा एक भाषामा अर्को भाषा (विशेषतः विदेशी) को प्रभाव कस्तो हुन्छ र नेपाली भाषाको सन्दर्भ कस्तो छ भन्ने बारेमा यहाँ चर्चा गरिएको छ ।

आगम के हो?
नेपाली भाषाका बारेमा कुरा गर्दा हामी शब्दको स्रोतको तहमा भित्रिएका विदेशी भाषा प्रभावको चर्चा गर्छौँ- आगन्तुक शब्दहरूलाई चिनाउँदै । नेपाली भाषामा विदेशी भाषाको प्रभाव क्रमशः यसको व्याकरणिक संरचना र नियममा पनि बढ्दै गएको छ । यसैले आगमको प्रभावलाई हामीले मसिनो गरी हेर्न आवश्यक छ ।

एउटा भाषाको संरचना, शब्दस्रोत तथा व्याकरणिक व्यवस्थामा अर्को भाषाका संरचना, शब्दस्रोत तथा व्याकरणिक व्यवस्था सरेर, अनुकरण हुँदै वा नक्कल गरेर भित्रिने कामलाई आगम भनिन्छ । राजनीतिक, आर्थिक, राजनीतिक, सांस्कृतिक अनेक पक्षहरूबाट भाषामा यस्ता बाह्यभाषाको प्रभाव भित्रिन पुग्छन् ।

शब्दगत आगम
शब्दगत आगम भनेको विदेशी भाषाबाट मौलिक भाषाले आयात गरेका वा विप्रेषित स्रोतका रूपमा ग्रहण गरेका विभिन्न शब्द हुन् । यिनलाई आगन्तुक शब्द भनेर चिनाउने गरिएको छ । यी आगन्तुक हुन् कि विप्रेषित वा आयातित? अङ्ग्रेजीमा यसलाई ‘मगनी’ (बरोड) शब्द भन्ने गरिएको पाइन्छ । जे भनिए पनि यी शब्दगत आगम हुन् । अनेक कारणले विदेशी शब्दहरू भाषामा आगमस्वरूप भित्रन्छन् । यसरी भित्रिने प्रमुख कारण हुन्:

अभावपूर्ति: भाषा भूगोल र भौगोलिक सापेक्षतामा विकास भएको हुन्छ । प्राकृतिक र प्रविधिगत भिन्नता र प्रविधिको विकासको बान्की र शैलीमा निर्भर भएर भाषाको शब्दभण्डार बनेको हुन्छ । कुनै अवधारणा जब भाषिक समाजलाई उपलब्ध प्रकृति र प्रविधिभन्दा बाहिरको हुन्छ तब त्यो अवधारणाको शब्दका लागि त्यसको स्रोतमा के भनिन्छ त्यसैलाई समाउनुपर्ने हुन्छ । उदाहरणका लागि, देशमा विदेशबाट व्यापारिक आयात जति बढ्दै जान्छ उतिउति विदेशी शब्द देशका भाषामा भित्रिँदै जान्छन् । नेपाली समाजमा लेख्ने प्रविधि त विकास भएको थियो तर वर्ण टङ्कन गर्ने प्रविधि थिएन । टङ्कन गर्ने यन्त्र सायद अङ्ग्रेजी भाषी समाजले विकास गर्‍यो र नाम दियो- टाइपराइटर ।

स्वभावैले शब्द वा व्याकरणिक संरचनामा हुने आगमले मौलिक भाषाको मौलिकतालाई सधैँ हाँक दिन्छ र ऐँजेरुले जस्तै सताउँछ ।

टाइपराइटर विदेशबाट आयात गरियो । आयात हुनेबित्तिकै नेपाली भाषामा टाइप, टाइपराइटर शब्द भित्रिए । यो अभावपूर्ति स्वरूप हुने शब्दआगम अन्तरराष्ट्रिय व्यापार वाणिज्यको प्रभाव भाषिक समुदायमा जति बढ्दै जान्छ त्यति नै मात्रामा बढ्दै जान्छन् । यसरी भित्रिने शब्दलाई स्वभाषामा उल्था गरेर गरिने प्रभाव शून्य, न्यून वा प्रभावहीन हुन्छ । ‘कम्प्युटर’लाई आजका नेपाली कतिले अर्को नेपाली शब्दमा नाम दिएर भाषिक व्यवहार चलाउँछन् र?

विकल्पको खोज: विदेशी भाषाबाट मौलिक भाषामा शब्द भित्रिने अर्को कारण विकल्पको खोजी हो । विशेष गरी मौलिक भाषाका वक्ताहरूलाई आफ्नै भाषाका शब्दहरू कम वजनदार, कम शिष्ट वा अशिष्ट र कम सार्थक लाग्छन् । यसैले उनीहरूले आफ्ना मौलिक शब्दहरूलाई अन्य भाषाको समान अर्थका शब्दद्वारा प्रतिस्थापित गर्दै प्रयोग गर्छन् र मौलिक भाषाका शब्द भण्डारमा त्यस्ता शब्दको प्रयोगले क्रमिक रूपमा ठाउँ लिँदै जान्छ ।

यस्तो अवस्था द्वैभाषिक ज्ञानको विकाससँगै बढ्दै जान्छ । उदाहरणका लागि, नेपालमा आमाले बच्चालाई दूध ख्वाउनु परम्परित अभ्यास हो । अहिले पढेलेखेका आमाहरूले बच्चालाई ‘दुध खुवाउँदैनन्’, ‘ब्रेस्ट फिडिङ’ चाहिँ मजैले गराउलान्। अनि बच्चाले खाने दूध पनि ‘थुन’बाट आउँदैन; ‘निप्पल’बाट आउँछ । नेपालीलाई तनाव त्यति हुँदैन तर साह्रै टेन्सन हुन्छ । हामी यौनाङ्गको नाम त नेपालीमा भन्दै भन्दैनौँ किनभने हामीलाई अश्लीलताको आरोप लाग्छ‚ यसैले हामी यौनसम्पर्क, सम्भोग, समागम, यौनक्रीडा भन्न लजाउँछौँ र हामीले अङ्ग्रेजीको ‘सेक्स’ शब्दले तिनलाई प्रतिस्थापित गर्दै लगेका छौँ ।

छरितोपनको खोज: भाषिक समाजको शब्दभण्डार सो समाजको सामाजिक सम्बन्धहरूको मौलिक ढाँचाले निर्धारण गर्दछ । उस्तै सम्बन्धहरूलाई पनि अनेक शब्दहरूमा थप वर्गीकृत गरेर सम्बोधन गर्नुपर्ने भाषिक व्यवस्था हुन सक्छ । द्वैभाषिक ज्ञानसँगै यस्तोमा दोस्रो भाषाबाट शब्द लिएर प्रतिस्थापन गरी छरितो सम्बोधन गर्न सजिलो लाग्न थाल्छ ।

नेपालीमा काका, ठूलाबा, सानाबा, बडाबा, मामा, काकी, सानिमा, ठूलेमा, बढेमा जस्ता फरकफरक नातासम्बोधन छन् । यो सबै छु्ट्याएर किन भद्दा बन्नु? ‘अङ्कल’ र ‘अन्टी/आन्टी’ कति छरितो छ अनि?

प्रणालीको आयातः देशमा हुने राजनीतिक, कानुनी, प्रशासनिक व्यवस्थामा ल्याइने विदेशी अवधारणाहरूसँगै विदेशी भाषाका शब्दहरू मौलिक भाषामा भित्रिन्छन् । उदाहरणका लागि, नेपाली कानुनमा प्रयोगमा रहेका बालिग, जेलर, रजिस्ट्रार, ब्याङ्क, अदालत, डाक्टर, जाहेरीजस्ता अनगिन्ती आगन्तुक शब्द यस्तै प्रणालीगत आयातका उपज हुन् । कतिपय अवधारणा जनाउने शब्दहरू अनुवादेय हुने हुनाले पनि यस्ता आगम बढ्दै जान्छन् ।

व्याकरण र भाषासंरचनामा हुने आगम
द्वैभाषिक सम्पर्कबाट मौलिक भाषामा विदेशी भाषाको ढाँचाको पनि अनुकरण वा नक्कल हुन्छ । उदाहरणका लागि, नेपाली भाषामा कारणवाची संयोजकको रूपमा ‘भने’ मौलिक रूपमा प्रचलनमा रहँदै आएको हो । तर भने हाम्रो कारणवाची संयोजक हो भन्ने कुरा वर्तमान पुस्ताका धेरैलाई थाहा नै छैन ।

हिन्दी भाषासँगको सम्पर्कका कारण नेपालीमा हिन्दीको कारणवाची संयोजक ‘कि’ पो स्थापित भइसक्यो । ‘म नेपाली बोल्छु किनकी म नेपाली हुँ’ जस्ता वाक्य नेपालीमा शुद्ध नै मानिन थालेका छन्। हुन त शुद्ध त ‘म नेपाली बोल्छु किनभने म नेपाली हुँ’ मात्रै हो ।

‘पशुपति नाथकी जय,’ ‘नदी बग्छिन्’ ‘गाईले खान्छिन्’ जस्ता अभिव्यक्ति नेपाली भाषाको संरचनाभित्रका हुँदै होइनन् तर हिन्दीको संरचनागत आगमस्वरूप धेरै यस्तो पनि प्रयोग गरिरहेका छन् । नेपालीमा परिमाणवाची विशेषणपछिको नाम शब्दको बहुवचन सामान्यतः एक वचनकै तिर्यकस्वरूपले जनाउँछ र बहुवचन बनाउन ‘हरू’ प्राय: चाहिन्न ।

अङ्ग्रेजी भाषामा एक वचन र बहुवचनका भिन्दै नियम छन् । अङ्ग्रेजीको व्याकरण व्यवस्था पढेकामा त्यसको प्रभावले नेपालीमा ‘हरू’को प्रयोगको बढोत्तरी संरचनागत आगमको उदाहरण हो । ‘रामका सय घोडा थिए’ – यो नेपालीको शुद्ध र स्पष्ट बहुवचन द्योतक वाक्य हो । यता, कतिपय नेपाली पढाउने शिक्षकले नै ‘घोडाहरू’ नलेखेकाले गलत भनेर अङ्क दिँदैनन् ।

व्याकरणिक तहमा हिसाबले नेपाली भाषाको संरचनाकै तहमा आएको अर्को आगम शासकीय बडप्पन हो । हो, राज्यमा प्रयोग हुने भाषा शिष्ट र औपचारिक हुनु स्वाभाविक हो । नेपालमा भने त्यो शिष्ट र औपचारिकताका नाउँमा शासकीय बडप्पन र चाकडीको भाषिक ढाँचा नै विकास भएर आयो । नेपाली भाषाको मौलिक संरचना संस्कृतमा जस्तै आदरार्थीका दुई समान स्वरूप रहेका हुन् – तपाईँ र तिमीको सम्बोधन ।

संस्कृतमा त‚ तिमी उच्च आदरार्थी हो – भगवानलाई पनि तिमी भनेरै नमस्कार गरिन्छ । नेपालको शासन व्यवस्थामा मुगलको देखासिकी भयो । यसैले तँ र मौसुफ/हजुर तिमी र तपाईँमा थपिए । परिणामस्वरूप तँ न्यून आदरार्थी र मौसुफ/हजुरलाई अति उच्च आदरार्थी बनाइयो । भाषाभित्र नचाहिँदो गरी सियो पसेर घोचेको घोच्यै छ ।

आगमले पार्ने प्रभाव
नेपाली भाषाको शुद्धीकरणमा समर्पित एउटा समूहले मुखपुस्तको भित्तो (फेसबुक वाल) मा आगम शब्दको प्रयोग कति हितकर? भन्ने प्रश्न राख्नुभो । नेपाली कानुनी र न्याय क्षेत्रमा प्रयोगमा रहेका धेरै यस्ता शब्दलाई तत्सम र तद्भव शब्दद्वारा प्रतिस्थापन गरिनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ ।

स्वभावैले शब्द वा व्याकरणिक संरचनामा हुने आगमले मौलिक भाषाको मौलिकतालाई सधैँ हाँक दिन्छ र ऐँजेरुले जस्तै सताउँछ । यसैले यसको दुष्प्रभावबाट जोगिन हरसम्भव प्रयास गर्नुपर्छ । यसका लागि सबैभन्दा पहिलो प्रयास व्याकरणिक संरचनामा आउने आगमबाट भाषालाई जोगाइनुपर्छ किनभने व्याकरणिक आगमले मौलिकतालाई निक्कै छिटो ध्वस्त बनाउँछ । यसैले अनादरार्थी तँ र अति उच्च आदरार्थीमा बक्सने सियोलाई भाषिक प्रयोगमा प्रश्रय नदिऔँ ।

शब्दको तहमा हुने आगम हामीले चाहेर पनि टार्न छल्न सक्दैनौ । त्यसैले यसलाई केही फरक तरिकाले सम्बोधन गर्नुपर्ने हुन्छ । यसका लागि, पहिलो दाउपेच भनेको मौलिक वा झर्रा, तत्सम र तद्भव शब्दहरूको प्रयोग बढाउनु नै हो । दोस्रो प्रयोग नगरी नहुने अवस्थामा दुरुस्त आगम (जस्तै बालिग/नाबालिक) को साटो अङ्गीकृत (साबालक/नाबालक) शब्दहरूको प्रयोगलाई प्रश्रयसाथ प्रयोग गर्नु हो ।

अन्त्यमा,
बाहिरबाट ल्याउने आगन्तुक नाम दिने तर कहिल्यै फिर्ता नपठाउने कुरा यसै नराम्रो हो । हामीले तिनलाई आगन्तुक नै मानेको हो भने त्यही नाम दिऊँ र नामअनुसारै ती आगन्तुक (पाहुना) लाई बिदा गरौँ । आगन्तुक भएर आएका ती शब्दमध्ये धेरैले नेपाली संस्कृतिमा अभ्यस्त भएर नेपालीकै अङ्गीकृत र केहीले त वंशीय हैसियत पाइसकेका छन् । त्यस्ता अन्तरघुलित भइसकेका शब्दहरूलाई चाहिँ सकेसम्म प्रयोजनपरक क्षेत्रमा प्रयोग गर्दै अगाडि बढौँ भन्ने हो तर खै हाम्रा भाषाप्राधिकार र प्राधिकारीलाई यस्ता कुराको महत्त्वबोध होला ? अनि, लाग्ला र तिनका कानमा बतास ?

प्रतिकृयाहरु
Loading...