‘विप्लवलाई प्रचण्डबिनाको नेकपासँग सहमति हुन्छ भन्ने लाग्यो होला’

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएसँगै सत्तारुढ नेकपाभित्र तरङ्ग आएको छ ।

सार्वजनिक गतिविधि गर्न पाउने हो भने वार्ताका लागि सकारात्मक रहेको विप्लवको विज्ञप्तिसँगै विप्लव शान्तिपूर्ण मूलधारमा आउनसक्ने सम्भावनाहरु पनि औंलाउन थालिएको छ । यसको जस लिने लोभमा सत्तारुढ नेकपा देखिएको हो । सशस्त्र आन्दोलन गर्दै आएको समूह वार्तामार्फत् शान्तिपूर्ण राजनीतिमा आउनु आफैँमा सुखद् विषय हो पनि ।

विप्लव नेतृत्वको नेकपालाई सरकारले २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको हो । प्रतिबन्धपश्चात् थप चिढिएको विप्लव नेतृत्वको नेकपाले ठाउँठाउँमा हिंसात्मक घटना दोहोर्याइरह्यो । त्यही समयमा सरकारले विप्लवका धेरै नेता/कार्यकर्तालाई पक्राउ गरेर जेलमा हाल्ने र मुद्दा चलाउने काम गरेको छ ।

नेकपाभित्रको किचलो बढिरहेका बेला विप्लवले वार्ताका लागि सकारात्मक संकेत गर्नुलाई अर्थपूर्ण रुपमा पनि हेरिएको छ । सत्तापक्षीय नेकपाका नेता सुवासचन्द्र नेम्वाङ्ले यसलाई ‘प्रचण्डबिनाको नेकपामा वार्ता गरिएको खण्डमा सही निष्कर्षमा पुगिन्छ’ भन्ने ठानेर वार्तामा आउन तयार भएको रुपमा अर्थ्याएका छन् । ‘अहिले जुन नेकपाले सरकार सञ्चालन गरिरहेको छ’, नेता नेम्वाङ्ले मकालु खबरसँग भने, ‘यससँग अर्थात् प्रचण्ड नभएको नेकपासँग वार्ता गर्दा ठीक निष्कर्षमा पुगिन्छ भन्ने सोच्नुभयो होला । त्यसपछि उहाँहरु वार्ताका लागि सकारात्मक हुनुभयो ।’

नेकपा फुटेपछि नै किन विप्लव वार्ताका लागि सकारात्मक भयो ? भन्ने प्रश्नमा नेता नेम्वाङ्ले भने, ‘प्रचण्डजीहरु अहिले हुनुहुन्न । यसैले उहाँ वार्ता गर्ने निष्कर्षमा पुग्नुभयो होला ।’

देशको सबै राजनीतिक दल सरकारमा आउनुपर्छ भन्ने आफूहरुको धारणा भएको बताउँदै नेता नेम्वाङ्ले भने ‘राजनीतिक प्रक्रिया मिलाएर मूलधारमा आउनुपर्छ भन्ने हामी सबैको धारणा हो । उहाँहरु वार्ताका लागि आउनु राम्रो कुरा हो । यदि उहाँहरु छलफलमा आउनुहुन्छ भने सबैले यो प्रक्रियालाई सहयोग गर्नुपर्छ ।’

नेता नेम्वाङ्का अनुसार सरकारले वार्ताका लागि गृहकार्यसमेत चाँडै थालनी गर्दैछ । वार्तासम्बन्धी गृहकार्यसमेत चाँडै शुरु हुने र सम्बन्धित पक्षले यसलाई ध्यान दिइरहेको उनले बताए ।

यसअघि खानेपानी मन्त्री तथा पूर्वमाओवादी नेता मणिचन्द्र थापाले नख्खु कारागारमा रहेको विप्लव नेता हेमन्तप्रसाद ओली ‘सुदर्शन’लाई भेटेका थिए ।

पछिल्लोपटक पार्टी विभाजन हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन् । ४ सय ४१ सदस्यीय नेकपाका बहुमत सदस्य दाहाल–नेपाल समूहतिर गएपछि अल्पमतमा परेका ओलीले पूर्वमाओवादी नेतादेखि पूर्वलडाकूसम्मलाई आफूतिर आकर्षित गरिरहेका छन् ।

सरकारले यसअघि सीके राउतलाई मूलधारको राजनीतिमा सामेल गराएको थियो ।

यो पनि
–विप्लव नेतृत्वको नेकपा वार्ताका लागि सकारात्मक

प्रतिक्रिया