चीनद्वारा कोरोनाविरुद्धका १६ खोपलाई परीक्षण अनुमति

बेइजिङ । चीन सरकारले चीनभित्रै बनेका कम्तिमा पनि १६ वटा खोपलाई परीक्षणको अनुमति दिएको छ। चीनको नेसनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले चिनभित्र बनेका कम्तिमा पनि १६ वटा कोरोनाविरुद्धको खोपलाई परीक्षण अनुमति दिएको जानकारी गराएको हो।

शनिबार सो निकायले दिएको जानकारीअनुसार चीन सरकारले यहाँका १६ ओटा कम्पनीका खोपहरुलाई परीक्षणको अनुमति दिएको छ भने तीमध्ये ६ खोप परीक्षणको तीन चरण पूरा भइसकेको जनाइएको छ।

यीमध्येका दुई खोप कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ।

‘चाइना नेशनल बायोटेक ग्रुप’को तर्फबाट बनेको सिनोफार्मको खोपले अहिले बजार लिएको छ। त्यस्तै गरी सिनोभ्याक बायोटेकले बनाएको कोरोना भ्याक भ्याक्सिनले पनि बजारमा प्रवेश पाएको छ र यसको धेरैतिर प्रयोग पनि भएको बताइएको छ।

ती दुई खोपले चीनको सरकारी आधिकारिक निकायबाट गएको डिसेम्बर ३० मा र यसै वर्षको फेब्रुअरी ५ मा नै अनुमति पाएको बताइएको थियो। त्यसैगरी चीनको औषधि व्यवस्थापनसम्बन्धी सरकारी निकायले यही फेब्रुअरीको ९ मा चार करोडभन्दा बढी खोप यहाँका औषधिको प्रचलन गर्ने संस्थाहरुलाई हस्तान्तरण गरेर लगाइएको बताएको छ।

त्यसमार्फत् ती खोपहरु चीनमा काम गर्ने र भाइरसको जोखिम रहेका समुदायका नागरिकलाई नै लगाइएको बताइएको छ।

प्रतिक्रिया