मुसहर बस्तीमा सुधारिएको चुलो

चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको सीमान्तकृत बस्तीमा सुधारिएको चुलो वितरण गरिएको छ । रत्ननगर नगरपालिका-७ मालपुरमा बसोबास गर्दै आएका मुसहर समुदायलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको हो ।

सपना भिलेज सोसल इम्प्याक्ट सौराहा र बाघमारा मध्यवर्ती सामुदायिक वनले संयुक्तरूपमा ४२ परिवारलाई सुधारिएको चुलो वितरण गरेका हुन् । तीनवटा दाउराले दाल, भात र तरकारी सजिलै पकाउन सकिने सजिलो चुलो मुसहर समुदायलाई प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

मुसहर बस्तीमा आयोजित कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेती, इम्प्याक्टका अध्यक्ष गिरी र बाघमारा सामुदायिक वनका अध्यक्ष जीतु तामाङले संयुक्तरूपमा मुसहर महिलालाई चुलो हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वनका अध्यक्ष तामाङले दाउराको प्रयोग गरेर खाना पकाउँदा महिलाको स्वास्थ्य तथा बस्ती नै कुरूप बन्दै गएकाले सुधारिएको चुलो प्रदान गरिएको बताए । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलगायतको सहभागिता रहेको थियो । –रासस

प्रतिक्रिया