नयाँ खुलासाको राजनीति !

  • धनबल राई

काठामाडौँ । संसद् विघटनपछि छुट्टिएका नेकपाका दुवै समूह यतिबेला देश दौडाहा अभियानमा छन् । नेताहरु समानान्तर सभाहरुमा सहभागी भएर एकअर्काविरुद्ध गाली बर्साइरहेका छन् ।

५ पुसयता चलेको यो शृङ्खला अझैसम्म टुङ्गिएको छैन । अहिले सीमित संख्याका सभा तथा सम्मेलनलाई पनि बृहत् भन्न थालिएको छ । शीर्ष नेताहरु सस्ता भएका छन् । सडकमा टुसुक्क बस्नेदेखि मञ्चमै सोफामा ढसमस्स गर्नेमा शीर्ष नेताहरु नै छन् ।

नेताहरुको यो ढर्रासँग नागरिक आजित भइसकेका छन् । नागरिकले आफू आजित भएको जनाउ राजनीतिक सभा–सम्मेलनमा देखाउन थालेका छन् । अनि सधैं उही कर्मकाण्डी भाषण सुन्दा सुन्दा नागरिकका कान टट्टाएका छन् । न नयाँपन न नयाँ पारा ।

त्यसपछि आफ्ना राजनीतिक कार्यक्रममा ठूलो संख्यामा सहभागी कटौती भएका सम्झिँदै नेताहरुले विभिन्न विषय र परिस्थितीको हवाला दिन थालेका छन् । खासगरी नेकपाको सत्तापक्षमा यो क्रम बढी देखिन्छ । शनिबार पनि ओली समूहले गरेको प्रदेश नं. १ को आमसभामा त्यस्तै शृङ्खला दोहोरियो ।

प्रधानमन्त्री ओलीभन्दा अगाडि सभालाई सम्बोधन गरेका संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले भनेका थिए– ‘प्रधानमन्त्रीज्यूले आज नयाँ खुलासा गर्दै हुनुहुन्छ । म पनि त्यसकै पर्खाइमा छु ।’ शनिबार बिहानै प्रधानमन्त्री ओलीका प्रिय पात्र तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पनि खसखस लगाउने गरी ट्वीट् गरेका थिए ‘आज के हुन्छ ? पक्कै केही नयाँ ।’ तर, नेम्वाङ् वा बाँस्कोटाले भनेजस्तो पनि भएन विराटनगरको सभामा ।

प्रधानमन्त्रीले कुनै खुलासा गरेनन्, बरु आफ्नै प्रशंसामा सरकारले अभुतपूर्व काम गरेको दाबी गरेर समय गुजारे । बरु कार्यक्रमको शुरुमै प्रधानमन्त्री ओलीले प्रचण्डलाई खिल्ली उडाउने नाममा कानै बिझाउने खालको भाषा प्रयोग गरे । उनले भने– ‘अब प्रचण्डजीलाई कुनै झाँक्रीले पनि बचाउन सक्दैन ।’

यसअघि गत माघ २३ गते ओली समूहले यही सिद्धान्त अपनाएको थियो । २ लाखभन्दा बढी मानिस आउने फूर्ति लगाएको सभामा मानिसको संख्या बढाउनका लागि प्रधानमन्त्रीले नयाँ कुरा खुलासा गर्ने दाबी गरिएको थियो । कार्यक्रम हुने तय भइसकेपछि मात्र गरिएको कार्यक्रम स्थल छनोटले पनि नयाँ केही आउने पो हो कि भन्ने जस्तो बनाएको पनि थियो । नारायणहिटी संग्रहालय अघिल्तिर सभा गर्ने र केपी ओलीले नयाँ कुरा खुलासा गर्ने बताएपछि उपस्थिती बढ्ने नै भयो । सभास्थल छनोटको कुरा थाहा पाएपछि नेकपाको दाहाल नेपाल समुहका नेता सुरेन्द्र पाण्डेले ओलीले हिन्दु राज्यको पक्षमा कुनै घोषणा हुन सक्ने आँकलन गरेका थिए ।

शनिबार विराटनगरको सभापछि फेरि नेताले नागरिकलाई ढाँट्न र झुक्याउन खोजेको पुष्टि हुन्छ । केही नयाँ हुन्छ भन्दै सभामा आकर्षण र उपस्थिती बढाउन त लाज हुनुपर्ने हो । नागरिकप्रति जवाफदेहि र जिम्मवार बन्ने हो भने यो सभामा प्रधानमन्त्री ओलीले के नयाँ खुलासा गरे त ? पटकपटक सभामुख बनिसकेका, संविधान सभाका अध्यक्ष तथा बरिष्ठ अधिवक्ता सुवासचन्द्र नेम्वाङ्गले कम्तिमा मञ्चमा सार्वजनिक रुपमा भनेको आफ्नो भनाइबारे माफि माग्नु पर्छ कि पर्दैन ?

प्रतिक्रिया