हत्यामा संलग्नलाई कैद मिनाहा गरेकोमा आपत्ति

काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले ब्यक्ति हत्यामा संलग्न तीनजनालाई सरकारले कैदमुक्त गरेकोमा आपत्ति जनाएको छ ।

नेपाल तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाहा गरि थुनामुक्त गरेकोमा तरुण दलले आपत्ति जनाएको हो ।

दलका अध्यक्ष जीतजङ्ग बस्नेतले विज्ञप्ति निकालेर २०६८ साल पुसमा जिल्ला कारागार भरतपुर चितवनभित्र तरुण दलका नेता पौडेलको हत्या गरेको गम्भिर अपराधमा संलग्न तीनजनालाई कैदमुक्त गरेकोमा आपत्ति जनाएका हुन् ।

हत्यामा संलग्न रहेका तीनैजना प्रधानमन्त्री केपी शर्मा ओली समुहका कार्यकर्ता भएकाले उनीहरुलाई जेलमुक्त गरिएको तरुण दलले जनाएको छ ।

कारागारभित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने ब्यक्तिलाई सरकार र राष्ट्रपतिले आम माफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवान्छीत कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा सरकारका यस्ता कामले नेपाल तरुण दल र लोकतन्त्रवादी तरुणलाई गम्भीर र आन्दोलित बनाएको उल्लेख गर्दै अपराधीहरुलाई संरक्षण गर्ने जनविरोधी सरकारको उक्त निर्णयविरुद्ध विरोध गर्न तरुण दल चितवन जिल्ला समितिलाई निर्देशन पनि दिइएको छ ।

प्रतिक्रिया