जन्म लिनु छैन मलाई

  • लक्ष्मी पुन

जहाँ,
सृष्टिकर्ता
जननी
दिदिबहिनीको
चमेली, सीता, माझघरकी माइली
जोकोही नारीको सुरक्षा छैन
त्यहाँ जन्म लिनु छैन मलाई ।

आमाको गर्भबाट निस्केर
बाहिरी धर्ती बुझ्न नपाउँदै
अबोधपनको फाइदा उठाउने
आफ्नै काकाको शिकार हुन
जन्म लिनु छैन मलाई ।

छो…टो वस्त्र लगाएर
उत्तेजित पार्यो भन्ने पापीहरुले
खोइ त,
सबै छोप्ने गुन्यु, चोली लगाउने
मनमाया र उसको कलकलाउँदो
यौवनलाई छोडेको ?
भर्खर स्तन पलाउँदा
सर्ट बाहिरैबाट गिद्दे नजर लगाउने मास्टर
घरी–घरी तिनै स्तनका कोपिला
निमोठ्ने दाउ कुरिरहन्छन्

एक्लै खेतहरुमा
सुनसान बाटोमा
विद्यालयमा
कार्यालयमा
एकान्त ठाउँमा अझ आफ्नै घरमा पनि
म, सुरक्षित छैन
र हुने छैन

आमा,
आफ्ना यौन प्यास मेट्नलाई
मलाई नै पर्खिरहेका छन् यौन पिपासु दानवहरु

आमा,
नौ महिना मात्र हैन
पूरै तिम्रो जीवनकालसमम्म
मलाई तिम्रै गर्भमा बस्नु छ हस् ?
बरु देख्नु छैन
बलात्कारीको संसार

यदि तिम्रो गर्भमा
जीवनकालसम्म रहन सक्दिनँ भने नि
आमा,
गरिदेउ गर्भपतन
गरिदेउ भ्रुण हत्या
हुने छैन केही अवैधानिक
बरु हाँस्दै बिदा लिने छ
तिम्री छोरी ।

हो, आमा
अब एउटा पनि छोरीले
यो धर्ती टेक्नु हुँदैन
गरिदेउ गर्भपतन
यदि म बिना बाँच्न सक्दिनौ भने
गर तिमी पनि आत्महत्या
अनि मिलेर हेर्नु छ
परलोकबाटै तिमी अनि मैले
पुरुष मात्रको संसार रहन्छ रहँदैन ?
अनि त्यो पनि हेर्नु छ
कसरी चल्छ यो सृष्टि ?

प्रतिक्रिया