अब प्रतीक्षा फैसलाको

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा दुवै पक्ष र एमिकस क्युरीको रायसमेत सुनुवाइ गरेको सर्वोच्च अदालतले आगामी मंगलबारका लागि पेसी तोकेको छ । सुनुवाइ सकिएपछि इजलासका तर्फबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बहसनोट पेस गर्न २ दिन समय तोकेका हुन् ।

एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले बहस सकेपछि प्रधानन्यायाधीश जबराले महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई ‘बहसनोट पेस गर्नुभयो ?’ भनी सोधेका थिए । जवाफमा पाण्डेयले आइतबार पेस गर्ने जवाफ दिएपछि जबराले ‘सोमबार ल्याए पनि हुन्छ’ भनेका थिए । त्यसपछि उनले मंगलबार फेरि ‘हेर्दाहेर्दै’ का लागि पेसी तोक्न आदेश दिए ।

त्यसो भए मंगलबार निर्णय सुनाउने (निसु) भनी कानुन व्यवसायीहरूले प्रश्न गरेका थिए । जवाफमा प्रधानन्यायाधीश जबराले भने, ‘अहिले निसुको प्रश्न छैन । १० गतेसम्म बहस नोट पेश गर्नुस्, ११ गते हेर्दाहेर्दैमा राखौँ, त्यही दिन पनि निर्णय हुन सक्छ, अर्को दिन पनि हुन सक्छ ।’

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि सर्वोच्चमा १३ वटा रिट दर्ता भएका थिए । रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दै पुस १० गते प्रधानन्यायाधीश राणाले विपक्षी (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालय)लाई प्रतिनिधिसभा विघटन गर्नुको कारणसहित लिखित जवाफ पेस गर्न र निर्णयको सक्कल फाइल उपलब्ध गराउन आदेश दिएका थिए ।

रिट निवेदकले मुद्दाको सुनुवाई बृहत पूर्ण इजलासमा हुनुपर्ने माग समेत गरेका थिए । तर प्रधानन्यायाधीश नेतृत्वको पाँच सदस्यीय इजलासले मुद्दाको सुनुवाई संवैधानिक इजलासमै गर्न आदेश दिएपछि माघ ४ गतेदेखि लगातार सुनुवाई हुँदै आएको थियो । रिट निवेदकका तर्फबाट ६८ जना कानुन व्यवसायीले बहस गरेका थिए भने विपक्षीका तर्फबाट ३६ जना कानुन व्यवसायीले प्रतिरक्षा गरे । त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट चार जना कानुन व्यवसायीले समेत बहस गरेका थिए ।

मुद्दाको पक्ष र विपक्षीले बहस सकेपछि गत मंगलबारदेखि एमिकस क्युरी (अदालतको सहयोगी)ले बहस थालेको थियो । एमिकसका पाँच जनाले आफ्नो राय दिएसँगै शुक्रबार मुद्दाको सुनुवाई सकिएको हो । दुई महिना लामो बहस सकिएसँगै अब एक हप्ताभित्रमा फैसला आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया