चेपाङ विद्यार्थीई विद्यालय नियमित गराउन दिवा खाजा

चितवन । जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं २ तोवाङमा रहेको भुलभूले आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरिएको छ । इच्छाकामनाका चेपाङ समुदायको विकासको लागि डेढ वर्षदेखि काम गरिरहेको सपना भिलेज सोसियल इम्प्याक्ट सौराहाले चेपाङ विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम सुरु गरेको हो ।

आर्थिक अभावका कारण पेटभरि खान नपाएर चेपाङ विद्यार्थीहरु विद्यालयमा नियमित हुन नसकेपछि तीन वर्षको लागि दिवा खाजा कार्यक्रम सुरु गरिएको सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । सो विद्यालयका अध्ययन गर्ने ६५ जना चेपाङ विद्यार्थीको लागि दिवा खाजा व्यवस्था गरिएको हो ।त्यसका लागि गाउँपालिकाका शिक्षा अधिकारी दुर्गादेवी खड्काको रोहबरमा इम्प्याक्टका अध्यक्ष गिरी र विद्यालयका प्रधानाध्यापक विष्णु अधिकारीले सहमती पत्रमा हस्ताक्षर गरेका छन् । दिवा खाजा कार्यक्रम सञ्चालनको लागि इम्प्याक्टले खाना पकाउन आवश्यक पर्ने सामान तथा खाद्यान्न हस्तान्तरण गरेको छ ।

६५ वटा थाल, ६५ वटा गिलास, ६५ वटा कचौरा, ६५ वटा चम्चा, प्रेसर कुकर, ग्यास चुलो, सिलिण्डर सहित भान्सामा आवश्यक पर्ने सम्पूर्ण सामान, खाद्यान्न सामाग्रीहरु चामल, दाल, आलु, तेल, नुन, मसला, अण्डा, प्याज, लसुन लगायतका सामाग्रीहरु तथा दराज समेत हस्तान्तरण गरिएको छ ।

९९ प्रतिशत चेपाङ विद्यार्थीहरु भोकै विद्यालय जाने गरेको थाहा पाएपछि खाजाले विद्यार्थीको पेट भरिदैन भनेर खानाको व्यवस्था गरिएको गिरीले बताए । तीन वर्ष सम्म खानाको लागि आवश्यक पर्ने सामाग्री क्रमस प्रदान गर्दै जाने इम्प्याक्टका अध्यक्ष गिरीले बताए । विद्यार्थीलाई पौष्टिक आहारको रुपमा मासु, अण्डा र सागसब्जीलाई जोड दिइने छ ।

प्रतिक्रिया