विराटनगरको सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

विराटनगर । नेकपा ओली समूहले विरारटनगरमा सभा गर्दैछ । यसअघि अन्य प्रदेशमा सभा गरेको सो समूहले आज प्रदेश १ को राजधानीमा गर्न लागेको हो ।
नेकपा दुई समूहमा विभाजित भएपछि दुवै समूहले आफ्नो शक्ति देखाउने थलो सडकलाई बनाउँदै आएका छन् । दाहाल नेपाल समूहले यसअघि विराटनगरमा सडक नै अवरुद्ध गराएर सभा गराएको थियो भने नेकपा ओली समूहले प्रदर्शनी स्थलमा सभाको आयोजना गरेको छ ।
विराटनगरमा हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै सभालाई गृहमन्त्री रामबहादुर थापा, नेता सुवास नेम्वाङ, प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायत नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रिय सदस्य विनोद ढकालले जानकारी दिए ।
उनका अनुसार विराटनगर–२ स्थित विराट नर्सिङ होमपूर्व हुने आमसभाको तयारीको सबै काम पूरा भएको छ । कार्यक्रम सफल बनाउन नेकपाका प्रदेश अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनपरिचालन मूल कमिटी गठन गरेको थियो । सभामा मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, भोजपुर र उदयपुरबाट नेता-कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।








