प्रधानमन्त्रीसँगै खटिने सुरक्षाकर्मीको ब्रीफकेसमा के हुन्छ ?

काठमाडाैँ । प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा उनको पछाडि उभिएका सुरक्षाकर्मीले बोकेका ब्रीफकेसबारे धेरैको चासो देखिएको छ ।

प्रधानमन्त्रीसँगै खटिने सुरक्षाकर्मीहरूले केही वर्षयता हातमा ब्रीफकेस बोकेर नजिकै उभिने गरेको देखिँदै आएको छ । यसपालि पनि ओलीको दायाँबायाँ र पछाडि तीन सुरक्षाकर्मीले हातमा ब्रीफकेस झुन्डाएर उभिएको देखिएको हो ।

तस्बिरहरूमा प्रधानमन्त्रीको सुरक्षामा खटिएका नेपाली सेनाका तालिमप्राप्त सुरक्षाकर्मीहरूले बोकेका तीनमध्ये दुईवटा ब्रीफकेस उस्तै देखिन्छन् भने एउटा अलि फरक छ । सुरक्षा मामिलाका जानकारहरूका अनुसार अलि मोटो देखिने ब्रीफकेसमा सबमशीनगन हुन्छ भने अलि पातला दुईवटा ब्रीफकेसमा प्रोटेक्टिभ शील्ड भनिने सुरक्षाकवच हुन्छ ।

मोटो ब्रीफकेसमा भित्र राखिएको अत्याधुनिक हतियारबाट गोली निस्किने प्वाल पनि देखिन्छ । ब्रीफकेसको ह्यान्डलसँगै रहेको ट्रिगरबाटै यसभित्र राखिएको हतियार चलाउन सकिने हतियारसम्बन्धी वेबसाइट ‘गन्स’ले उल्लेख गरेको छ ।

पातलो ब्रीफकेसमा भने दुईदेखि तीन पत्रसम्म पट्याएर गोली छेक्ने पाताहरू राखिएका हुन्छन् । विशिष्ट व्यक्तिहरूमाथि कुनै आक्रमण भएको अवस्थामा अङ्गरक्षकहरूले यस्तो ब्रीफकेसलाई तुरुन्तै सुरक्षा ढालको रूपमा प्रयोग गर्न सक्छन् । जोडले झड्कार्ने वा तान्नेबित्तिकै सुटकेसभित्र पट्टिएर बसेका पाताबाट गोली र अन्य प्रहार रोक्न सकिने एक सुरक्षा अधिकारीले बताए ।

कहिलेदेखि प्रयोग हुन थाल्यो ?
सुरक्षा संवेदनशीलताका कारण विशिष्ट व्यक्तिहरूको सुरक्षासम्बन्धी कतिपय सूचना खुलाउन नमिल्ने अधिकारीहरूको भनाइ छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले यस्ता ब्रीफकेसमा विशिष्ट व्यक्तिहरूको सुरक्षामा प्रयोग हुने उपकरण राखिने जानकारी दिए। तर उनले ती उपकरणबारे विस्तारमा बताउन चाहेनन् । ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा सन्दर्भमा अन्तर्राष्ट्रिय अ भ्यास र प्रचलनअनुसार भित्री घेरामा परिचालन हुने नेपाली सेनाको टीमले बोक्ने ब्रीफकेसमा सुरक्षाको लागि आवश्यक हुने उपकरणहरू बोकेका हुन्छन्,’ पौडेलले भने ।

सेनाका सेवानिवृत्त उपरथी विनोज बस्न्यातले अतिविशिष्ट व्यक्तिको सुरक्षामा ब्रीफकेससहितको सुरक्षा उपकरण बोक्ने चलन नयाँ नभएको बताए । ‘यो नयाँ सुरु भएको होइन, सुरक्षाको एउटा भागको रूपमा पहिल्यैबाट बोक्ने गरिन्थो,’ बस्न्यातले भने । तत्कालीन राजपरिवारको सुरक्षामा पनि यसको प्रयोग हुने गरेको उनले बताए ।

‘अतिविशिष्ट सुरक्षा पाउने सबैकोमा यस्तो व्यवस्था हुन्छ । तर कस्तो अवस्थामा बोक्ने भन्ने चाहिँ विशिष्ट व्यक्तिको सुरक्षा निर्देशनालयले तय गर्ने हो,’ बस्न्यातले भने । नेपालमा अहिलेसम्म राष्ट्रपति र प्रधानमन्त्रीको सुरक्षामा यस्तो ब्रीफकेस बोकेको देखिएको छ ।

यस्ता उपकरण धेरै अघिबाटै प्रचलनमा रहेको बताए पनि सैनिक प्रवक्ता पौडेलले ठ्याक्कै कहिलेबाट सुरु भयो भन्न सकेनन् । चार वर्षअघि तत्कालीन प्रधानमन्त्रीको सुरक्षामा खटिएका एक सुरक्षा अधिकारीले ‘ब्रीफकेस गन’ त्यस बेला पनि प्रयोग हुने गरेको बताए ।

तर १० वर्षअघि तत्कालीन प्रधानमन्त्री माधव नेपालको सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले त्यस बेला ब्रीफकेस गन बोकेर पहरा दिइने चलन आफूलाई याद नभएको बताए । –बीबीसीबाट

प्रतिक्रिया