नेपाल बङ्गलादेश बैंकद्वारा चाबहिलमा क्युआर कोडमार्फत कारोबार सुरु

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको चावहिल शाखाले काठमाडौं–७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाज चाबहिलमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्युआर कोडमार्फत भुक्तानी सुरुवात गरेको छ । नेपाल बंगलादेश बैंकले शुक्रबार एक समारोहको आयोजना गरी सो कार्यको शुभारम्भ गरेको हो । एफ वान सफ्टसँगको सहकार्यमा बैंकले उक्त भुक्तानी कारोबार सुरु गरेको जनाएको छ ।

नेपालमा डिजिटल भुक्तानीको सुरुवात भएसँगै यसलाई नगद रहित क्विक रेस्पोन्स(क्युआर) कोड मार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गर्ने नेपाल राष्ट्र बैंकको योजना छ । सोही योजना सफल बनाउन उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले सो क्षत्रका ब्यापारीलाई क्युआर कोड वितरण गरेका हुन् । उक्त अवसरमा डेपुटी गभर्नर सिवाकोटीले विभिन्न तरकारी खरिद गरी क्युआरकोडमार्फत भुक्तानी गरेका थिए । डेपुटी गभर्नर सिवाकोटीले डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तरिकाले नगदरहित कारोबार गर्दा हुने फाइदा बारे जानकारी दिँदै बैंकले साना तथा महिला उद्यमीलाई प्रदान गर्ने सहुलियत पूर्ण कर्जाको उपयोग गरी आफ्नो ब्यावसाय बिस्तार गर्न प्रोत्साहित गरेका छन् ।

उक्त कार्यक्रममा बंैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकले प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी गराएका थिए । बैंकले ग्राहक तथा व्यापारी वर्गको सुविधाका लागि सो स्थानमा बर्ल्ड  लिंक कम्युनिकेशनसँगको सहकार्यमा निःशुल्क वाईफाई पनि जडान गरिदिएको जानकारी गराएको छ

प्रतिक्रिया