एनएमबी बैंक : कुशल सीईओ केसीको कार्यकाल थप

काठमाडौं । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीको कार्यकाल ४ वर्षका लागि थप भएको छ ।सीईओ केसीले यसअघिको ४ वर्षे कार्यकालमा बैंकलाई राम्रो ब्यवस्थापन गरेको ठहरसहित सञ्चालक समितिले उनलाई अर्को कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

बैंकहरुले मुनाफालाई मात्रै ध्यान दिएर बढीजसो अनुत्पादक क्षेत्र (घरजग्गा, सवारी साधनलगायत) मा ऋण प्रवाह गरिरहेका बेला सीईओ केसी नेतृत्वको एमएमबी बैंकले भने उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरिरहेको थियो । उत्पादनमूलक क्षेत्रमा विस्तार गरिएको लगानीले बैंकलाई मात्रै नभई समग्र राष्ट्रकै आर्थिक समृद्धिमा टेवा दिने र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सघाउन सक्छ ।

कच्चा पदार्थमा मूल्य बढाइ उत्पादन गर्ने क्षेत्रमा गरिएको लगानीले जहिल्यै आत्मनिर्भर अर्थतन्त्रलाई उकास्न मद्दत गर्छ भन्ने धारणाका साथ सिईओ केसीको नेतृत्वकालमा बैंकले जलविद्युत् उत्पादन परियोजनामा ठूलो लगानी गरेको छ । त्यस्तै, पर्यटन, कृषि, शहरी विकासका क्षेत्रमा पनि बैंकले प्राथमिकताका साथ लगानी गरेको छ ।

कोभिड–१९ को महामारी चलिरहेका बेलासमेत विदेशबाट सहुलियत दरको ऋण ल्याएर नेपालका उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उनी सफल भएका छन् । कोभिड–१९ महामारीकै बेला कञ्चन विकास बैंकलाई केसीकै नेतृत्वमा एनएमबी बैंकले एक्वायर गर्याे ।

यसले गर्दा उक्त एक्वायर हुने बैंकका शाखाहरु मार्फत एनएमबीले त्यस क्षेत्रका नागरिकसमक्ष ‘क’ वर्गको वाणिज्य बैंकको सेवासमेत विस्तार गर्न सफल भयो । कोभिड–१९ को महामारीका बीच बैंकले सेवाग्राहीको सुविधालाई उच्च प्राथमिकतामा राखेर सेवा प्रदान गरेको थियो ।

कसैलाई छुनै नहुने र पैसा छुँदा पनि कोरोना भाइरस सर्ने देखिएको बेला डिजिटल बैंकिङ कारोबारलाई पनि एनएमबी बैंकले प्राथमिकताका साथ अघि बढायो । अहिले बैंकले नगदरहीत कारोबारलाई विस्तार गर्ने उद्देश्यले क्युआर कोड वितरण कार्यलाई तीव्र पारेको छ । सफलताका यीनै कडीहरुका कारण हुनुपर्छ– एनएमबी बैंकले तीन वर्षसम्म ‘वर्ष बैंक’ अर्थात ‘बैंक अफ द इयर’को उपाधि जितेको छ ।

सिईओ केसीको नेतृत्वकालको वर्तमान अवस्थामा बैंकले १ खर्ब ४२ करोड ५६ लाख निक्षेप संकलन गरेको छ । त्यस्तै, १ खर्ब ४२ करोड ५३ लाख रुपैयाँ ऋण लगानी प्रवाह गरेको छ । केसी नेतृत्वमा आउनु अघिसम्म बैंकको निक्षेप संकलन करिब ८० अर्ब ५० करोड रुपैयाँ र ऋण लगानी ७० अर्ब रुपैयाँ रहेको थियो ।

हाल १४ अर्ब ४४ करोड ७७ लाख चुक्ता पूँजी रहेको बैंकको ८ अर्ब ७२ करोड ७२ लाखको जगेडा कोष रहेको छ । ब्याज आम्दानीबाट बैंकले २ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ । १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ बैंकले नाफा गरेको छ । बैंकको कर्मचारी खर्च १ अर्ब ७ करोड १५ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट बैंकले सेयरधनीलाई १६.२ प्रतिशत लाभांश वितरण गरेको छ । केसीकै कार्यकालमा यसअघि बैंकले ३५ प्रतिशतसम्म पनि वार्षिक लाभाशं वितरण गरेको थियो ।

तत्कालिन ग्रिन्डलेज र हालको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट करिअर सुरु गरेका सीईओ केसीसँग बैंकिङ क्षेत्रमा काम गरेको ३१ वर्षको अनुभव छ । एनएमबी बैंकमा नायब महाप्रबन्धकको रुपमा प्रवेश गरेका हुन्।

डलरमा सहुलियत ब्याजदरको ऋणसमेत ल्याउन सक्ने उनको नेतृत्व कालमा बैंकले आफ्नो अन्तर्राष्ट्रिय छविमा समेत सुधार ल्याएको ठहर सञ्चालक समितिले गरेको छ । यसको निरन्तरताका साथै थप सफलता प्राप्त गर्नेमा विश्वस्त रहँदै केसीको कार्यकाल ४ बर्ष थप गर्ने निर्णय गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया