मन्त्रिपरिषद्‌बाट भएका सबै निर्णय क्षम्य हुँदैनन् : पौडेल

  • सुमन सुस्केरा

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‌बाट भएका सबै निर्णय क्षम्य हुनु नहुने बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता पौडलले मन्त्रिपरिषद्‌ले पास गरेपछि जतिसुकै ठूलो भ्रष्टाचार भएपनि क्षम्य हुने नियमले गल्ती गर्नेलाई सजिलो भएको बताएका हुन्।

‘अहिले क्याबिनेटको आडमा नीतिगत भ्रष्टाचार मौलाएको छ,’ पौडेलले भने, ‘क्याबिनेटले पास गरेपछि जतिसुकै ठूलो करप्सन पनि क्षम्य हुने नियमले सजिलो भएको छ, अब यो नियम तोड्नुपर्छ।’ क्याबिनेटबाट भएको निर्णयलाई देखाएर कोही पनि उन्मुक्त हुन नहुने उनको भनाइ छ।

ठूला घोटालामा सरकार संलग्न रहेको भन्दै नेता पौडेलले वाइडबडी‚ ओम्नी समूह र फास्ट ट्र्याकमा समेत ठूलो भ्रष्टाचार भएको आरोप लगाएका छन्।

नेपालमा सुशासन कायम गर्ने हो भने मन्त्रिपरिषद्बाट हुने निर्णयलाई पनि अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्नुपर्ने पौडेलले बताए।

प्रतिनिधि सभा विघटनको सन्दर्भमा पौडेलले नेपालको अदालतप्रतिको विश्वास अझै कायम रहेकाले प्रधानमन्त्रीले गरेको असंवैधानिक निर्णयलाई अदालतले उल्ट्याउने विश्वास व्यक्त गरे। अदालत पनि नागरिकको भरोसाको केन्द्र भएकाले भोली आइपर्न सक्ने विग्रह र द्वन्द्वलाई रोक्नका लागि प्रतिनिधि सभा विघटनको निर्णयलाई अदालतले उल्ट्याइदिने विषयमा आफू विश्वस्त रहेको उनले बताए।

निर्वाचन हुनै नसक्ने दाबी गरेका पौडेलले प्रधानमन्त्रीले भनेको निर्वाचन गफमात्र भएको उल्लेख गरे।

‘प्रधानमन्त्री ओलीजीले निर्वाचनको गफमात्र लाइदिनुभयो,’ उनले भने, ‘उहाँको चुनाव चिह्नको अझै टुंगो लागेको छैन, कसरी चुनाव हुन्छ?’

निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न नै ९० दिन लाग्ने भएकाले तोकिएको समयमा निर्वाचन हुन नसक्ने उनको ठम्याइ छ। संविधान राम्रो भएपनि पात्र गलत परेकाले प्रतिनिधि सभा विघटन भएको बताउँदै उनले संसदीय अभ्यासमा गैरसंसदीय चरित्र प्रदर्शन भएको उल्लेख गरे।

‘भ्रष्टाचारलाई ढाकछोप गर्न संवैधानिक नियुक्ति’
नेता पौडेलले संवैधानिक नियुक्तिमा हुने भागबन्डा नै गलत भएको बताएका छन्। जो पदाधिकारी जसको भागबाट नियुक्त भयो उसैप्रति उत्तरदायी हुने परम्पराको विकास हुँदै आएको छ,’ पौडेलले भने, ‘सरकार तथा कार्यकारीलाई नियन्त्रण गर्नुपर्ने आयोगहरु नै बिटुल्याइयो।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा यसलाई संचालन गर्ने व्यक्तिहरु गलत निस्कनुको परिणाम अहिले देखिएको तर्क गरे। अहिलेको संवैधानिक नियुक्ति भ्रष्टाचारलाई ढाकछोप गर्नकै लागि बनेको पौडेलको आरोप छ। ‘पहिला ठूला ठूला अपराध गरेपछि त्यसलाई ढाक्नका लागि गरिने संवैधानिक नियुक्तिहरू अझ ठूलो अपराध हो,’ पौडेलले भने।

अविश्वास प्रस्तावको पक्षमा कांग्रेस
प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा कांग्रेसले सघाउने पौडेलले बताएका छन्।

विपक्षी, प्रतिपक्षीको धर्म भनेको सत्ता पक्षको विरुद्ध मतदान गर्ने भएकाले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने पौडेलले बताए। ‘कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि केन्द्रीय कमिटीमा थेग्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अब केन्द्रीय कमिटीबाट निर्णय भएर प्रदेश सरकारविरुद्धको अविश्वासको प्रस्तावमा कांग्रेस जान्छ।’

प्रतिक्रिया