२ लाख ६३ हजार बढीले लगाए कोभिडविरुद्धको खोप

  • सृष्टि नेपाल

काठमाडौं । नेपालमा अहिले पहिलो चरणको खोप अभियान सकिएर दोस्रो चरण चलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख ६३ हजार ४८६ जनाले खोप लगाइसकेका छन् ।

सरकारले खोप अभियान सुरु गर्दैगर्दा अनुमान गरेको भन्दा यो संख्या निकै कम हाे। स्वास्थ्य मन्त्रालयले पहिलो चरणको अभियानमै अग्रपंक्तिमा खटिएका ४ लाख ३० हजार जनाले लगाउने भनेको थियाे तर पहिलाे चरणमा ७७ जिल्लाबाट १ लाख ८४ हजार ८५७ जनाले मात्रै खाेप लगाए।

यद्यपि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतम भने खाेपमा उत्साहजनक सहभागिता भएकाे दाबी गर्छन्। उनले मकालु खबरसँग भने, ‘खाेपमा उत्साहजनक सहभागिता छ। पहिलाे चरणमा मात्रै ८२ प्रतिशतले खाेप लगाउनुभएकाे छ। दाेस्राे चरणकाे सहभागिता कस्ताे हुन्छ, हेर्नुपर्छ।’

यस्तै उनले फागुन २३ गतेदेखि ६० वर्षमाथिकालाई खाेप लगाउने निर्णय भएकाे स्पष्ट पार्दै सबैलाई खोप लगाउन अनुरोधसमेत गरे। ‘अहिले नै सबैका लागि खाेप उपलब्ध हुन सम्भव छैन। ६० वर्षमाथिकालाई लगाएपछि अर्काे चरणमा ६० वर्षमुनिका अन्य राेग भएकाहरूलाई उपलब्ध गराउनेछाैँ,’ डा. गाैतमले भने, ‘सबैले नडराई खाेप लगाउँदा हुन्छ। अहिलेसम्म कसैलाई पनि खाेपकाे गम्भीर लक्षण देखिएकाे छैन, याे खाेप सुरक्षित छ। ढुक्कसँग लगाउनुस्। कोभिडबाट बच्नुस्।’

स्वास्थ्य मन्त्रालयले भारतले दिएकाे १० लाख डाेज खाेप पहिलाे चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, शव व्यवस्थापकलाई उपलब्ध गराएको थियो। त्यस्तै दोस्रो चरणमा पत्रकार, बैंकका कर्मचारी, सबै सरकारी कर्मचारी, सार्वजनिक संस्थान, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू, सीमा सुरक्षाकर्मी र पहिले छुटेका स्वास्थ्यकर्मीहरुलाई खाेप उपलब्ध गराइरहेकाे छ। जारी दाेस्राे चरणमा अहिलेसम्म ७७ हजार ६२१ जनाले खाेप लगाएका छन्।

प्रतिक्रिया