ग्लोबल स्टार्टअप प्रतियोगितामा नेपालको कम्युनिटी होमस्टे नेटवर्क विजयी

काठमाडौं । यूएनडब्ल्यूटीओद्वारा आयोजित पर्यटन रूपान्तरणको लागि ग्लोबल स्टार्टअप प्रतियोगिता अन्तर्गत एसडीजी– ८ राम्रो काम र आर्थिक वृद्धि विधामा नेपालको कम्युनिटी होमस्टे नेटवर्क विजयी भएको छ ।

संयुक्त राष्ट्र इनोभेशन नेटवर्कले समर्थन गरेको यस प्रतियोगितामा करिब १० हजार प्रारम्भिक प्रस्ताव सहभागी थिए । ती प्रस्तावबाट विश्व पर्यटन क्षेत्रमा विविध प्रतिभाको क्षमता उजागर गर्दै दिगो विकास लक्ष्य (एसडीजी) मा योगदान पुर्याउने १८ देशका २५ बिजेता निर्णायक मंडलले छनौट गरेका हुन् ।

विश्व पर्यटन क्षेत्रका विज्ञ नेताहरू मिलेर बनेको निर्णायक मण्डलले स्टार्टअपको सडीजी विशेष लक्ष्यमा योगदान पुर्याउने सम्भाव्यता, उनीहरूको स्केल–अप गर्ने क्षमता, प्रोडक्ट र यसको व्यवस्थापन टोली दुवैको परिपक्वताका आधारमा मूल्यांकन गरेका हुन् ।

एसडीजीको प्रगतिका लागि विशेष महत्व र योगदान दिनसक्ने २५ वटा विश्वव्यापी विजेतामध्ये अमेरिकाले ९ प्रतिस्पर्धी विजेतासँगै प्रस्ताव पेश गर्ने क्रममा अग्रिणी स्थान प्राप्त गरेको छ । युरोपले ८ विजेता, एशिया र प्रशान्तक्षेत्रबाट ६ विजेता, र अफ्रिका र मध्य पूर्वी क्षेत्रबाट १–१ विजेता बनेका छन्।

कम्युनिटी होमस्टे नेटवर्क (सीएचएन)का संस्थापक शिवप्रसाद ढकालले भने, ‘समुदाय आधारित पर्यटनको अग्रणी एवं उदाहरणीय गन्तव्यका रूपमा नेपाललाई स्थापित गर्ने अभियानले यूएनडब्ल्यूटीअ जस्तो प्रतिष्ठित संस्थाबाट सम्मान प्राप्त गर्नु सम्पूर्ण सीएचएन टोली र हाम्रो राष्ट्रको लागि ठूलो सम्मान हो।’

समुदायमा आधारित पर्यटन नेपालको अथाह पर्यटन आयामलाई उजागर गर्ने एउटा भरपर्दाे माध्यम भएकाे उनले बताए ।  ग्रामीण र उदीयमान पर्यटन स्थलहरुमा मौलिक स्थानीय अनुभव प्रदान गर्ने र देशभरका पर्यटन सम्भावनाहरुलाई प्रस्फुटित गराउने याे एक नमूना प्रोडक्ट हुनसक्ने उनकाे भनाइ छ ।

‘हामीले यसको सञ्चालन र व्यवस्थापनमा दिगो र जिम्मेवार अभ्यासहरू अपनाउनु पर्दछ,’ उनले भने ।

 

प्रतिक्रिया