डेढ करोडको लगानीमा प्रहरी चौकी

चितवन । चितवनको रत्ननगर १३ जयमंगलामा बाग्मती प्रदेश सरकारको लगानीमा प्रहरी चौकी निर्माण गरिएको छ । प्रदेश सरकारको आन्तरीक मामिला तथा कानुन मन्त्रालयबाट गत आर्थिक वर्ष २०७६-०७७ मा विनियोजन गरिएको वजेटले सुविधायुक्त प्रहरी चौकी निर्माण गरिएको हो ।

निर्माण सम्पन्न भईसकेपनि कोरोना भाईरस संक्रमणका कारण चौकीको भवन उद्घाटन गरिएको थिएन् । बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालयकी प्रहरी निरीक्षक विमला श्रेष्ठका अनुसार चौकी निर्माणमा कुल १ करोड ६२ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । चौकीमा महिला र पुरुषको छुट्टाछुट्टै शौचालयसहित हिरासत कक्ष समेत रहेका छन् ।सो नवनिर्मित भवनको बुधवार एक कार्यक्रमकाबीच बाग्ममती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) वसन्तकुमार लामाले सो उद्घाटन गरे । सो अवसरमा डिआईजी लामाले सुविधायुक्त भवन निर्माणपछि सहज र सरल किसिमले सेवा प्रवाह गर्न मद्यत पुग्ने बताए ।

‘भवन नहुँदा काममा अप्ठ्यारो हुन्छ, अब भवन सुविधायुक्त भयो,’ डिआईजी लामाले भने, ‘जनताले प्रहरी रहेको अनुभुती हुने गरि सेवा प्रवाह गर्नुपर्छ ।’ केही प्रहरी स्वार्थको लागि मात्र काम गर्ने कहिकतै आफूले पाएको भन्दै डिआईजी लामाले समाजमा राम्रो परिचय बनाउने गरि काम गर्न मातहतका प्रहरीलाई उनले निर्देशन दिए । उनका अनुसार गत आर्थिक वर्षमा बागमती प्रदेशभर ४६ वटा प्रहरी इकाई र चालु आर्थिक वर्षमा २१ वटा प्रहरी इकाईलाई सरकारले बजेट विनियोजन गरेको थियो ।

भवन उद्घाटन कार्यक्रममा रत्ननगर १३ का वडाध्यक्ष चित्रवहादुर भण्डारीले स्थानीय तह र समुदायले निर्माण सुरु गरेपनि रकम अभावका कारण अपुरो रहेकोमा प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरे । तत्कालिन अवस्थामा पिल्लर ठड्याउने काम भएर रकम अभाव हुँदा निर्माण कार्य रोकिएको थियो ।इलाका प्रहरी कार्यालय रत्ननगरको मातहतमा रहेको सो चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना प्रहरीको दरबन्दी रहेको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरिक्षक रविन कार्कीका अनुसार सो चौकीले रत्ननगरको वडा नम्वर १२,१३ र १५ मा सेवा प्रवाह गर्दै आएको छ ।

आफ्नै भवन नहुँदा चौकी भाडामा बस्दै आएको थियो । इलाका प्रहरी कार्यालय रत्ननगरको मातहतमा प्रहरी चौकी र प्रहरी बिट गरि कुल १० वटा इकाई रहेका छन् । उद्घाटन कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्मा, विभिन्न सुरक्षा निकायमा प्रमुखहरु, वडाअध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया