प्रदेश सरकारसँग आफ्नै लाज ढाक्ने टालो पनि छैन : प्रमुख सचेतक केदार कार्की

  • केशव सापकोटा

विराटनगर । माघ अन्तिम साता प्रदेश १ सरकारविरुद्ध अविश्वासको प्रस्ताव टेबुल गर्ने कार्यसूची थियो। तर, ओली समूहको नेपाल कम्युनिस्ट पार्टीले नै संसद अवरुद्ध गर्यो । सरकार पक्षले नै अविश्वासको प्रस्ताव टेबुल गर्न नदिने गरी संसद अवरुद्ध गरेपछि सभामुखले कार्यसूचीमै प्रवेश नगरी संसद स्थगित गरे। यो प्रकरणलाई नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले संसदीय इतिहासकै धब्बाका रुपमा चित्रित गरे।

प्रदेश सरकार नाङ्गेझार भएको र ऊसँग लाज ढाक्ने टालोसमेत नभएको भन्दै उनले चर्को आलोचना गरे। हिजोमात्रै प्रदेश १ सरकारले तीन वर्षे कार्यकाल पुरा गर्यो । मुख्यमन्त्री शेरधन राईले तीन वर्षे कार्यकाललाई ऐतिहासिक रुपमा सफल भएको भन्दै गर्दा कांग्रेस सचेतक कार्कीले भने मुख्यमन्त्री राई नेतृत्वको सरकार इतिहासकै असफल सरकार भएको तर्क गरे।

प्रदेश-१ सरकार कसरी असफल भयो? अविश्वासको प्रस्ताव किन टेबुल भइरहेको छैन? प्रदेश-१ मा अब कसको सरकार बन्ला यिनै विषयमा प्रमुख सचेतक कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश:

प्रदेश सरकारको तेश्रो वार्षिकोत्सवमा त देखिनुभएन। तथापि, प्रदेश सरकारको तीन वर्षे कार्यकाललाई कसरी मुल्यांकन गर्नुहुन्छ?

यो सरकारले तीन वर्षसम्म हनिमुन मनाएर मधुमासमै बितायो। सरकारको सय दिनलाई हनिमुन पिरियड भनिन्थ्यो, १ नम्बर प्रदेश सरकारको हनिमुन पिरियड तीन वर्षको रहेछ।

यो तीन वर्ष प्रमुख प्रतिपक्षी दलको भूमिका चाहीँ कस्तो रह्यो त?

प्रतिपक्षी दलले सरकारको, मुख्यमन्त्रीको कलर नै समात्नुपर्छ भन्ने छैन। प्रमुख प्रतिपक्षी दलले सरकारले गरेका कामकारबाहीको निगरानी गर्ने, राम्रो काम गरेको छ भने मौन समर्थन जनाउने र नराम्रो अथवा गलत गर्‍यो, भने बोलेर विरोध गर्ने हो। समर्थन मौन हुन्छ‚ विरोध चाहीँ बोलेर गर्ने हो।

कुनैपनि एङ्गलबाट सरकारलाई समर्थन गर्ने आधार देखिँदैन। सरकारले तीन वर्षमा एउटा पनि विधेयक तयार पारेर पठाउन सकेको छैन। सरकारसँग आफ्नै लाज ढाक्ने टालो पनि छैन।

कांग्रेसले दुवै कार्य गरेको छ। राम्रो गर्दा मौन समर्थन जनाएको छ, गलत गर्दा संसदमा बोलेको छ‚ कराएको छ। हामीले गरेको विरोधलाई नसुन्नु चाहीँ गलत हो। प्रमुख प्रतिपक्षी दल कमजोर छैन। हामीले हाम्रो भूमिका प्रभावकारी रुपमा निर्वाह गरेका छौं।

तीन वर्षमा सरकारले गरेका कुन–कुन काममा समर्थन जनाउन सकियो कुन–कुनमा सकिएन ?

हिजो फागुन ३ गते प्रदेश सरकारले तेस्रो वार्षिकोत्सव मनायो। तर, यो सरकारको पहिलो क्याबिनेट बैठकले गरेको निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन भने सरकारले तीन वर्षमा गरेका राम्रा काम के के हुन् कसरी भन्ने? मैले भनिहाले नि! सरकारका तीन वर्ष हनिमुन पिरियडमै बित्यो। मुख्यमन्त्री राईको सरकारका कुनैपनि काम र निर्णयमा हामीमात्र होइन आम जनताले समर्थन जनाउन सक्ने, चित्त बुझाउन सक्ने आधार छैन। सरकार कार्यगत, नीतिगत, आर्थिक सुशासन सबै क्षेत्रमा असफल भएको छ।

कुनैपनि एङ्गलबाट सरकारलाई समर्थन गर्ने आधार देखिँदैन। सरकारले तीन वर्षमा एउटा पनि विधेयक तयार पारेर पठाउन सकेको छैन। सरकारसँग आफ्नै लाज ढाक्ने टालो पनि छैन।

नेकपाभित्रको कलहले प्रतिनिधिसभा विघटन हुँदा १ नम्बर प्रदेशको सरकार पनि ढल्ने अवस्था आयो के छ पछिल्लो अवस्था ?

नेपाली कांग्रेसले दुई तिहाइको स्थायी सरकारलाई पूर्णरुपले काम गर्न दिनुपर्छ भनेको थियो। तर, नेकपा सरकार आफ्नै कारणले असफल भयो, घरभित्रकै कलहले समाप्तको दिशामा छ। संघीय सरकारमा देखिएको विवाद प्रदेशमा पनि आएको छ। मुख्यमन्त्री शेरधन राईका विरुद्ध नेकपाकै अर्को समूहले अविश्वासको प्रस्ताव दर्ता गरेको छ। त्यो अविश्वासको प्रस्ताव आइतबार बस्ने संसदमा टेबु्ल हुन्छ।

No description available.

मुख्यमन्त्री राईको बर्हिगमन सुनिश्चित छ। उहाँले अविश्वासको प्रस्ताव फेस गर्नुको विकल्प छैन। सरकार हतास मनस्थितिमा पुगिसकेको छ। मुख्यमन्त्री शेरधन राईको सरकारलाई कुरीकुरी गर्ने ठाउँ पनि छैन। सरकार कुनै पनि बेला ढल्न सक्छ भन्ने लागेर होला हिजो हतारहतार वार्षिकोत्सव मनाएको।

आइतबार संसद बैठक बस्न सकेन भने के हुन्छ?
सभामुख साझा पद हो, एउटा गुटको वा सरकारको मात्रै भएर उहाँ चल्न पाउनुहुन्न। हामीले बारम्बार भनिरहेका छौं‚ संसद चल्नु पर्‍यो भनेर। सभामुखले संसद बोलाउनुहुन्छ। आइतबारको संसदमा अविश्वासको प्रस्ताव टेबुल हुन्छ। अब पनि सत्तापक्षबाटै संसद अवरोध गर्ने कार्य भयो भने प्रमुख प्रतिपक्षी दल भएको नाताले नेपाली कांग्रेस चुप लागेर बस्दैन। संसद अवरुद्ध गर्न पाइँदैन भनेर हामीले सभामुखकहाँ डेलिगेसन गएर स्पष्ट भनेका छौं।

अविश्वासको प्रस्ताव दर्तासँगै अर्को सरकार गठनको कुरा पनि आएको छ। कांग्रेसको धारणा के छ ?

कांग्रेस मुख्यमन्त्री शेरधन राईलाई बचाउने पक्षमा छैन र अर्को समूहसँग गठबन्धन गरेर सरकार चलाउन पनि जाँदैन। मुख्यमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव जसले हालोस्‚ त्यो टेबुल हुनुपर्छ भन्ने हाम्रो मान्यता छ।

गठबन्धनको कुरा हुँदैन। हिजो हामीले सरकारले राम्रो काम गरेन, जनताका कुरा सुनेन, जनतासँग नजिक भएन, जनताका समस्यासँग टाढा रह्यो, जनताका जनजीविकाका कुरासँग खेलवाड गर्‍यो, बजेट राम्रो ल्याएन भनेर भोटिङ गरेका हौँ। आज सरकारले राम्रो गरेको छ भनेर रोस्टममा गएर सरकारको बचाउमा बोल्नेहरुले नै अविश्वासको प्रस्ताव ल्याएका छन्। योबेला हाम्रो एजेण्डा बोकेर सत्ता पक्षले नै अविश्वासको प्रस्ताव दर्ता गरेकाले हामीले सरकार ठिक छ भन्नु भनेको हामीभित्र पनि लोभ‚ पाप पलाएछ भन्ने देखिन्छ। अविश्वासको प्रस्ताव जसले ल्याएपनि अब त्यो संसदको सम्पत्ति हो।

त्यसको सुरक्षा गर्ने र अगाडि बढाउने दायित्व प्रमुख प्रतिपक्षको हुन्छ। त्यसलाई अगाडि बढाउने कर्तव्य प्रतिपक्षको हो। हामी त्यसमा प्रतिबद्ध छौं। अन्य राजनीतिक सहमति कायम नहुन्जेल अविश्वासको प्रस्ताव संसदको सम्पत्ति बन्छ। अर्को सरकार कांग्रेससहितको गठबन्धनको हुने अवस्था छ कि छैन? अहिले नै यो गर्छौं, त्यो गर्छौं भनेर भन्नु सान्दर्भिक हुँदैन।

प्रतिक्रिया