भागरथीको न्यायका लागि प्रदर्शन गर्थे आरोपी

काठमाडौँ । बैतडी दोगडाकेदार गाउँपालिका-७ की किशोरी भागरथी भट्टको हत्या आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । भागरथी अध्ययनरत विद्यालयमै कक्षा ११ मा अध्ययनरत ती किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीका अनुसार ती व्यक्तिले विद्यालयबाट फर्कंदा भागरथीको हत्या गरेका स्विकारिसकेका छन् । उनी भागरथीका छिमेकी र नातेदार पनि हुन् । मध्यान्‍न १२ बजे पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने तयारी भएको डीएसपी अधिकारीले जानकारी दिए ।

‘पक्राउ परेका किशोरले अपराध स्वीकारेका छन् । घरायसी रिसिबीका कारण घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् । त्यो रिसिबीका बारेमा विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत दिन्छौँ,’ उनले भने ।

न्यायका लागि भएको प्रदर्शन सहभागि थिए
भागरथीको हत्यापछि बैतडीमा दोषीलाई पक्राउ गरी न्याय दिन आवाज उठ्न थाले । न्यायका लागि भएका प्रदर्शन र जुलुसहरूमा ती किशोर पनि देखिन्थे । ‘पक्राउ परेका भट्ट आफै पनि भागरथीको न्यायका लागि भएको प्रदर्शनमा अग्रमोर्चामा सहभागी हुन्थ्ये,’ डीएसपी अधिकारी भन्छन्, ‘तर, उनीमाथि प्रहरी र भागरथीको परिवारको शंका रहँदै आएको थियो । अन्ततः उनी नै दोषि सावित भए ।’

दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथीको शव माघ २२ गते खोचलेक-चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो । उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो ।

प्रतिक्रिया