भागरथी बलात्कार-हत्या प्रकरण: छिमेकी पक्राउ

काठमाडौँ । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति भागिरथी पढ्ने स्कुलमै कक्षा ११ मा पढ्छन् । भागिरथी कक्षा १२ मा पढ्थिन् ।

भागरथीका छिमेकीसमेत रहेका उनलाई आज सार्वजनिक गरिने जिल्ला प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार ती व्यक्तिले प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेका स्विकारिसकेका छन् ।

यसबारे पत्रकार सम्मेलन गरेर पुष्टि गर्ने प्रहरी प्रमुख अधिकारीले बताए । ‘हामीले सफलता हात पारेका छौं, केही समयपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘आधिकारिक पुष्टि गरेपछि सबै कुरा खुल्छ ।’

दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथीको शव माघ २२ गते खोचलेक-चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो । उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो ।

प्रतिक्रिया