खुलामञ्च खुला गर्न डोजर चल्यो [फोटोफिचर]

काठमाडौँ । काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको हो ।‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुर्ननिर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौँ,’ काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भने, ‘वीर अस्पताल र दरबार हाईस्कुलको पुर्ननिर्माण सम्पन्न चरणमा पुगेपछि हामीले आजबाट उहाँहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ ।’ उनले विस्तारै बसपार्क पनि खुला गर्ने जानकारी दिए ।पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विरोध प्रदर्शन, र्‍याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भै महानगरपालिकाले अझ छिटोभन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको हाे । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई पत्र काटेरै हिजोसम्म खाली गर्ने वातावरण बनाउन आग्रह गरेको जानकारी दिए । ‘हामीले हिजोसम्म खाली गर्न तीन निकायलाई भनेका थियौँ,’ सापकोटाले भने, ‘उहाँहरुलाई ठेकेदार कम्पनीलाई पनि उहाँहरुका सामग्री हटाउन आग्रह गर्नु भनेका थियौँ। आज हामीले हटाउन सुरु गर्यौँ ।’

प्रतिक्रिया