बाग्मतीको जिल्ला शाखालाई आपतकालीन झोला

काठमाडौँ । सञ्चार रजिष्ट्रारको कार्यालय बाग्मती प्रदेशले नेपाल पत्रकार महासंघ बाग्मतीका सबै जिल्ला शाखालाई आपतकालीन झोला हस्तान्तरण गरेको छ । विपद् तथा जोखिम पत्रकारिता सहयोग कार्यक्रम अन्तर्गत १३ वटै जिल्ला शाखालाई आपतकालीन झोला हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल र भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलाई आपतकालीन झोला हस्तान्तरण गरे । सञ्चार रजिष्ट्रारको कार्यालय बाग्मती प्रदेशले ललितपुर र भक्तपुर शाखालाई आपतकालीन झोला हस्तान्तरण गरेपछि १३ वटै जिल्लामा ती सामग्री हस्तान्तरण भएका छन् ।

नेपाल पत्रकार महासंघको २६ औं अधिवेशनमा सहभागी हुन आएका देशभरका पत्रकारको सहभागितामा आपतकालीन झोला हस्तान्तरण गरिएको थियो । हस्तारण गरिएका आपतकालीन झोलामा ल्यापटप, पावर बैंक, माइक्रोफोन, टर्च लाइट र मोबाइल ट्राइपोड रहेका छन् ।

प्रत्येक जिल्लालाई दुई सेट सामग्री रहेको झोला वितरण गरिएको छ । विपदग्रस्त क्षेत्रमा रिपोर्टिङ गर्न चाहने पत्रकारले नेपाल पत्रकार महासंघबाट यो आपतकालीन झोला लिन पाउँछन् र रिपोर्टिङबाट फर्किएपछि ती झोला नेपाल पत्रकार महासंघका सम्बन्धित शाखामा हस्तान्तरण गर्नुपर्नेछ ।

यस अघि माघ ३० गते हेटौडामा आयोजित कार्यक्रममा सञ्चार रजिष्ट्रारको कार्यालयले नेपाल पत्रकार महासंघका रामेछाप, काभ्रेपलाञ्चोक, नुवाकोट, चितवन र मकवानपुर शाखालाई ती आपतकालीन झोला हस्तान्तरण गरिएको थियो ।

त्यस अघि पुस २४ गते पत्रकार महासंघका धादिङ शाखालाई धादिङबेसीमा, पुस २७ गते दोलखा शाखालाई चरिकोटमा, माघ २५ गते सिन्धुपाल्चोक शाखालाई चौतारामा, माघ २४ गते काठमाडौं शाखालाई काठमाडौं, माघ १३ गते रसुवा शाखालाई रसुवामा र माघ २८ गते सिन्धुली शाखालाई सिन्धुलीमा आयोजित कार्यक्रममा आपतकालीन झोला हस्तान्तरण गरिएको थियो ।

सञ्चार रजिष्ट्रारको कार्यालय बाग्मती प्रदेशले बाग्मती प्रदेशमा क्रियाशिल पत्रकारको हितमा गरिएको यो प्रयासले स्थलगत भ्रमण गरी गुणस्तरीय समाचार उत्पादनमा सहयोग पुग्ने र पाठक,स्रोता र दर्शकले गुणस्तरीय सूचना पढन, सुन्न र हेर्न पाउने आशा र विश्वास लिएको छ ।

प्रतिक्रिया