एउटा नमुना विद्यालय : जहाँ दलित समुदायका विद्यार्थी मात्र पढ्छन्

  • सुमन सुस्केरा

विराटनगर । मुख्यद्वारबाट छिर्नेबित्तिकै दायाँपट्टी फुलबारी बनाउन खोजिएको छ । बायाँपट्टी एउटा पुरानो घर अनि अलिक पर एउटा चिटिक्क परेको नयाँ भवन भर्खरै बनेको छ । सबै संरचना रंग रोगन गरेर चिटिक्क पारिएको छ भने अगाडि फोहार फाल्न डस्टबिन राखिएकाे छ ।

याे मोरङको ग्रामथान गाउँपालिका- २ मा रहेको रवि आधारभूत विद्यालयकाे कुरा हाे ।

विद्यालयका प्रधानाध्यापक जितेन्द्र सरदार विद्यालयको काम लिएर ग्रामथान गाउँपालिकातर्फ निस्कँदै गर्दा भेटिए । ‘अहिले कक्षा ७, ८ को परीक्षा चल्दैछ,’ उनले भने, ‘विद्यालयको काम लिएर गाउँपालिका जान लागेको ।’ आफू नहिँड्दासम्म विद्यालयको कामै नहुने उनले सुनाए । विद्यालय पहिलाको जस्तो छैन, सबै अनुशासित हुनुहुन्छ, विद्यार्थी र शिक्षकलाई अनुशासित राख्न पहिला आफू त्यस्तै बन्नुपर्ने उनको भनाइ छ।

परीक्षा दिइरहेका विद्यार्थी अनुशासित देखिए । विद्यालयलाई सफा बनाउन सबै लागेको देखियो । अर्काे कक्षामा रहेकी मोनिका सरदार बाहिर निस्किइन् र फोहोर डस्टबिनमा हालेर भित्र गइन् ।

उनी विद्यालयमा रहेको बाल क्लबको अध्यक्ष पनि रहिछन् । विद्यालयलाई सफा राख्न विद्यार्थीको नै बढी भूमिका हुने भएकाले सबै साथी आफूले निकालेको फोहोर आफैँले व्यवस्थापन गर्ने गरेको बताइन् ।

विद्यालयका प्रधानाध्यापक जितेन्द्र नै शौचालय सरसफाइको नेतृत्व गर्छन् । त्यसलाई पछ्याउने काम विद्यालयका शिक्षक र विद्यार्थीले गर्छन् ।

जितेन्द्र २०७३ सालमा यो विद्यालयमा आएका हुन् । उनी आउँदा विद्यालयमा जम्मा ३५ जना विद्यार्थी थिए । विद्यालयले दिने पर्याप्त सुविधा थिएन । विद्यार्थीकाे बीचमा झगडा हुने गर्थ्यो । शुरुका दिनमा निक्कै विरक्त लागेको जितेन्द्र सुनाउँछन् । ‘विद्यालयलाई सुधार गर्न सकिन्छ की सकिँदैन भनेर निक्कै चिन्ता लाग्थ्यो,’ उनले भने, ‘विद्यालयको गुणस्तर सुधार गर्न अतिरिक्त क्रियाकलापले भूमिका खेल्ने रहेछ भन्ने लागेर कराँते, गीत, संगीत र नृत्यको कक्षा पनि दिएँ ।’

ग्रामथान गाउँपालिकामा ४ सय ५० जना दलित विद्यार्थी भएकाे यो एक मात्र विद्यालय हो । ५ वर्षको बिचमा विद्यालयले राम्रो विद्यालयको रुपमा प्रोत्साहनवापत एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको उनले बताए ।

विद्यालयको इतिहास
२०४२ सालमा दुईजना विद्यार्थीबाट विद्यालय शुरु भएकाे हाे । २०४५ सालमा आएर यसले आधिकारिकता प्राप्त गर्‍यो । आर्थिक अवस्था अत्यन्त कमजोर भएका, दलित बाँतर समुदायका बालबालिका यो विद्यालयमा पढ्न थाले । साबिकको झोराहाट ३, ४ र ५ को धर्म भकारी यहाँ रहेको र त्यो भत्काएर बाँसको टाटी लगाएर विद्यालय शुरु गरिएको उनकाे भनाइ छ।

रवि सरदार गाउँका समाजसेवी थिए। उनी हिँडेर काठमाडौँ गएका थिए । काठमाडौँबाट फर्किएपछि उनले शिक्षाको महत्वलाई अझ बुझे । आफ्ना छोराछोरीलाई शिक्षा दिन सक्यो भने आफ्नो समुदायकाे विकास हुने रहेछ भन्ने ठानेर शिक्षाको गति दिने काम गाउँमै थालेका हुन् ।

अहिले विद्यालय भएको ठाउँमा त्योबेला बाँसघारी थियो । त्यही बाँसघारी फाँडेर विद्यालय निर्माणको काम शुरु भएको हो । यसरी विद्यालय बनाउनुपर्छ भन्ने २–४ जनामात्र रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रकुमार सरदारले बताए ।

त्योबेला गाउँका कोही पनि विद्यालय नजाँदा गाउँमा निक्कै समस्या हुने गर्थ्यो। त्यो समस्या समाधानका लागि शिक्षा नै पहिलो आधार भएकाले आफूहरु विद्यालय निर्माणमा लागेको सरदारले बताए । शुरुमा विद्यालयको अवस्था बाँसको बेरा र प्लाष्टिकको छानोमा संचालित थियो ।

झोराहाटमा एउटा विद्यालय थियो तर बालबालिका विद्यालय पुग्न टाढा भएका कारण नजिकैका रवि विद्यालयमा आउन थाले । विद्यालय खुले पनि सुरुका दिनमा विद्यालय आउन सक्ने अवस्था थिएन । थोरै विद्यार्थीमात्र विद्यालय आउँथे । ‘पिछडिएको समुदाय भएका कारण पनि आफ्ना बाबुनानीलाई विद्यालय पठाउनुपर्छ भन्ने ज्ञान उनीहरुमा थिएन,’ सरदारले भने, ‘जब म विद्यालयको प्रधानाध्यापक भएर आएँ त्यसपछि मात्र विद्यार्थीको चाप बढ्दै जान थाल्यो ।’

No description available.

यहाँ बाँतर, डाेम, चमारलगायत समुदायको बसोबास छ। विद्यालयमा यिनै समुदायका बालबालिका पढ्छन् । विद्यालयमा शुरुमा त कोही पनि पढ्न आउँदैन थिए । छोरीहरुलाई विद्यालय पठाउनुपर्छ भन्ने नै थिएन । आएका बालबालिका पनि विद्यालयमा बस्नै नचाहने अवस्था थियो । जसले गर्दा विद्यालय आएकाहरुलाई  टिकाएर राख्न चुनौती थियो ।

विद्यालय आएपनि पढ्न नमान्ने, भट्टामा काम गर्न जाने राजमिस्त्रीमा काम गर्न जाने क्रम धेरै हुन्थ्यो । विद्यालयको नियमित सुधारले बालबालिका विद्यालयमा टिकाइराख्न सफल भएको विद्यालयका प्रधानाध्यापक जीतेन्द्र सरदार बताउँछन् । अहिले ग्रामथान गाउँपालिकामा नै विद्यालय भर्ना भएका विद्यार्थी सबैभन्दा धेरै उपस्थित हुने विद्यालय आफ्नो रहेको दाबी प्रधानाध्यापक सरदारको छ ।

यसरी बढ्दैछन् विद्यार्थी
याे विद्यालयमा प्रधानाध्यापक पनि दलित समुदायकै रहेकाले विद्यालयकाे सुधारमा कम्मर कसेर लागेका छन् । विद्यालयमा अपाङ्गमैत्री, किशोरीमैत्री शौचालयसहित खानेपानीको व्यवस्थापन गरिएको छ । सरसफाईको बारेमा धेरै कुरा सिकाइएका छन् । भत्किएको पुरानो भवनलाई बालमैत्री तथा अपाङ्गमैत्री बनाइँदा विद्यालय छाड्नेकाे सँख्या  घटेकाे छ ।

त्यस्तै, विद्यालयले पठन पाठन सुधारका लागि अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको लागि छुट्टा छुट्टै आचारसंहिता बनाएर होर्डिङबोर्डमै टाँसेर सबैलाई आचार संहितामा बाँधिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा बालबालिकालाई ल्याउने काममा अभिभावक नै लागेका छन् । विद्यार्थीलाई टिकाइराख्न विद्यालयले सकारात्मक अभिभावकत्व भनेर अभियान पनि चलायो । अभिभावकहरु विद्यालयमा नियमित रुपमा आउने, आफ्ना छोराछाेरीले गृहकार्य तथा छोराछोरीको पढाइको बारेमा सोधीखोजी गर्ने गर्ने गरेकाे सामाजिक विषयकी शिक्षक सरस्वती कार्कीले मकालु खबरलाई बताइन् ।

के भयो राम्रो
यो विद्यालय निम्न माध्यामिक विद्यालय हो । अहिलेको शिक्षा ऐनअनुसार आधारभूत विद्यालयको रुपमा कक्षा ८ सम्म पढाइ हुन्छ ।  ११ जना शिक्षक रहेको विद्यालयमा दरबन्दीका ५ जना, निजी श्रोतमा ४ जना,   एकजना स्वयंसेवी र एकजना राहत कोटाका शिक्षक छन् । विद्यार्थी संख्या ४ सय ५० छ ।

४ सय ५० जना विद्यार्थीलाई पढाउने तथा विद्यालयलाई कस्तो बनाउने भन्ने दायित्व पनि यिनै शिक्षकको काँधमा छ । विद्यालयलाई कस्तो बनाउने भन्ने योजना र विचार दिने काम प्रधानाध्यापकले गर्दै आएका छन्।

No description available.

योजना बनाएर अघि बढेका प्रअ जितेन्द्रले रवि आधारभूत विद्यालयमा अन्य योजना निर्माणसँगै नमुना अभ्यासका साथ अघि बढेका छन् । सरसफाइका लागि हरेक कक्षाकोठा अगाडि डस्टबिनको व्यवस्था गरिएको छ। भित्र फोहोर हुँदा पनि बाहिर डस्टबिनमा ल्याएर बालबालिकाले हाल्छन् । हरेक दिन विद्यालय बिदा भएपछि चर्पी तथा विद्यालयको चौर विद्यालयका प्रधानाध्यापक आफैँले सफा गर्दै आएका छन् । उनी विद्यालयमा आएकाे २०७३ सालदेखि यो काम निरन्तर गर्दै आएका छन् ।

उनका अनुसार सहयोग माग्नुभन्दा पहिला आफैँले केही गर्नुपर्ने रहेछ , आफूले केही नगर्ने अनि अरुको मात्र भरपर्ने अवस्था राम्रो होइन । केही नयाँ गरेर देखाउने योजनाको पहिलो काम विद्यालयको शौचालयको सरसफाइको नेतृत्व आफूले लिनु हो । विद्यालयमा काम गर्दैगर्दा शौचालय सरसफाइ पनि आफैँले गर्दै आएको उनी सुनाउँछन् । हरेक दिन विद्यालय बन्द भएपछि ४ बजेदेखि सबै सौचालय आफैँ सफा गर्ने गरेको उनले मकालु खबरलाई बताए ।

शौचालय सफा गरेपछि उनी शिक्षकहरुलाई उत्प्रेरणा जगाउने खालका तालिम दिन्छन् । उनले प्रअ र शिक्षक भनेर दूरी घटाउनका लागि विद्यालयमा प्रअको बोर्ड नै राखेनन्। छुट्टै कार्यकक्ष पनि बनाएनन् । ‘पदका लागि लडाइँ हुने गरेका कारण आफ्नो विद्यालयलाई नमुना देखाउनका लागि प्रअको कुनै नमुना देखिँदैन सबै समान हुन् भन्ने देखिन्छ,’ उनले भने । पदको लागि हुने लडाइँले विद्यालयलाई बिगार्ने उनको ठम्याइ छ ।

नर्सरीदेखि  ८ कक्षासम्म पढाइ हुने यो विद्यालयलाई माध्यामिक विद्यालय बनाउने तयारी पनि भइरहेको सरदारले बताए । ‘अबको केही वर्षमा नमूना माध्यामिक विद्यालय बनाउँछु,’ उनले भने, ‘नयाँ संरचना निर्माण, लाइब्रेरी, खानेपानी, शौचालयसहितका पूर्वाधार निर्माण भइरहेका छन् ।’

‘विद्यालयमा कराँते, नृत्य, संगीत कक्षा संचालनसँगै शिक्षकहरुको लागि बालमैत्री शिक्षण सिकाइ तालिम हुनु, खानेपानी, शौचालय, सरसफाइ, बालबालिकालाई लौरोरहित पढाइ हुनु र नियमित विद्यार्थीलाई मनोरञ्जन दिलाउनु नै बालबालिका विद्यालय आउने वातावरण बन्नु हो‚’ उनले भने ।

प्रतिक्रिया