टेलिकमले सुरु गर्याे एनटी च्याटबोट सेवा

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई सेवाबारे स्वचालित रुपमा जानकारी दिन एनटी च्याटबोट सेवा सुरु गरेको छ । ग्राहकले कम्पनीका सेवा र सेवा लिने विधिबारे कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा शुभारम्भ गरेको जानकारी दिएको छ ।

कम्पनीको वेबसाइट खोल्नासाथ शुुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखा पर्छ । त्यहाँ निड हेल्प ? वेलकम टु एनटी च्याटबोट भनेर लेखिएको छ । यसमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली/अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ ।

कम्पनीका विभिन्न सेवा फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । त्यसैगरी विभिन्न सेवाबारे फिडब्याक दिन र सिकायत÷गुनासो समेत गर्न सकिन्छ । सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभाग÷पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गरिने छ ।

एनटी च्याटबोट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउँछ । कम्पनीका सेवाग्राहीले कुनै सेवाका बारेमा थप जानकारी लिनुपरे एनटी च्याटबोटबाहेक कम्पनीका सामाजिक सञ्जालहरु प्रयोग गर्न सक्दछन् । ग्राहकले कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधा बारे जानकारी लिन सक्छन् ।

कम्पनीको १७ औं वार्षिकोत्सवको अवसरमा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एनटी च्याटबोट सेवाको औपचारिक शुभारम्भ गरेका थिए ।

 

प्रतिक्रिया